काठमाडाैं ।
नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाईमा पु¥याउने बताउनुभएको छ ।
काँग्रेसको १५ औँ महाधिवेशनमा मुस्लिम क्लष्टरबाट सहमहामन्त्रीमा विजयी भएपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टी र देशको आवश्यकता बुझ्ने सक्षम नेतृत्व भएकोले सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो ।
उहाँले देशमा सङ्कट पर्दा नेपाली काँग्रेसले नै नेतृत्वदायी भुमिका निर्वाहर गरेर समाधान गरेको उल्लेख गर्दै आगामी दिनमा पनि गर्ने बताउनु भयो । विगतमा नेतृत्व तहबाट भएका कमी–कमजोरी सुधार गर्दै पार्टीले आफ्नो ऐतिहासिक पहिचानलाई निरन्तरता दिने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘मुलुकको इतिहासमा जब–जब सङ्कट परेको छ, तब यो देशलाई सम्हालेकै नेपाली काँग्रेसले हो । काँग्रेसले जुन कल्चर बसालेको छ, आफ्नो पहिचान बनाएको छ, त्यो पहिचानलाई निरन्तरता दिँदै र केही भएका कमी–कमजोरीहरूलाई सुधार गर्दै अघि बढ्छौँ । नेपाली जनतालाई राम्ररी थाहा छ, जब यो मुलुकमा सङ्कट आउँछ, त्यतिबेला नेपाली कांग्रेस काम आउँछ । आगामी दिनमा पनि नेपाली कांग्रेसलाई नै जनताले माया गर्नेछन् । काँग्रेस पनि एकदम मिलेर अगाडी जान्छ, पार्टी कार्यालय सानेपा सबै नेपाली काँग्रेसजनको हो ।
सबैको यसमा लगानी छ, सबै जना यहीँ आउनुहुन्छ र पार्टी एकढिक्का भएर अगाडि बढ्छ । गगनकुमार थापा गतिशील व्यक्तित्व हुनुहुन्छ । उहाँले समाज र देश बुझ्नुभएको छ । पार्टीको आवश्यकता र नेपाली जनताको चाहना पनि बुझ्नुभएको छ । उहाँले सबैलाई मिलाएर पार्टीलाई नयाँ उचाइमा लैजानुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’ उहाँले सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउन काँग्रेसले निरन्तर खबरदारी गर्ने पनि बताउनुभयो ।
हाल सरकारका कमजोरी औँल्याउने, जनताका अपेक्षाअनुसार काम गर्न प्रेरित गर्ने र सरकारलाई निरन्तर खबरदारी गर्ने कांग्रेसको प्रमुख जिम्मेवारी रहेको उहाँको भनाई छ । उहाँले सरकारले चाडपर्वका बेला महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भएपनि त्यसअनुसार काम हुन नसकेको उहाँको टिप्पणी छ ।







प्रतिक्रिया दिनुहोस्