Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे रास्वपाद्वारा छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन


520
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सार्वजनिक भएका समाचार, श्रव्य सामग्री तथा गम्भीर आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ।

पार्टीले सुनारसँग सम्बन्धित विषयमा सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

सञ्चारमाध्यममा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई पार्टीले गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ।

सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा आफ्नो शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।

त्यस्तै, राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यस प्रक्रियामा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

कानुन र पार्टी विधानअनुसार अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा थप कदम चालिने उल्लेख गर्दै रास्वपाले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीतका कार्यमा संलग्न जोकोहीलाई राजनीतिक संरक्षण नदिने जनाएको छ।