Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


पुराना दलका सबै नेता भ्रष्ट भन्ने भाष्य गलत: राजेन्द्र पाण्डे


78
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमवार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता गलत थिए भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताउनुभयो ।

उहाँले २०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद रहेको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री पाण्डेले आफू भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी गर्नुभयो । उहाँले पुराना राजनीतिक दलमा रहँदा खराब र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि असल ठहर गर्ने प्रवृत्तिमाथि समेत प्रश्न उठाउनुभयो ।

उहाँले रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उदाहरण दिँदै नेपाली काँग्रेसमा रहँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्दा खराब र रास्वपामा आएपछि असल भन्न मिल्छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले विगत ३५ वर्षको शासनकालमा मुलुकमा केही भएन भनि निर्माण गरिएको भाष्य समेत गलत र तथ्यहीन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजोका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्ने कुरा पनि बन्द गरे हुन्छ । म २०४८ सालदेखि २०७९ सालसम्म लगातारको सांसद हुँ । खै त हामी त त्यस्ता खालका भ्रष्टाचारका गतिविधिमा कहिल्यै सामेल भएनौँ त? यदि सामेल भएको भए अरुलाई लागेको हत्कडी राजेन्द्र पाण्डेलाई पनि लाग्नुपथ्र्यो होला नि त । त्यसो हुनाले यो सबै नेताहरु भ्रष्टाचारी हुन्, पार्टीका सबै मान्छेहरु गलत थिए भन्ने भाष्य पनि निर्माण नगरौँ । हिजो यिनै पुराना पार्टीका थुप्रै नेता कार्यकर्ता साथिहरु अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री तथा सांसद समेत बनेका होलान् । त्यसो भएको हुनाले हिजो दिनमा सबै खतमभन्दा डा. स्वर्णिम वाग्ले हिजो काँग्रेसमा भएर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा खराब अनि रास्वपामा पुगेपछि असल? त्यसो हुनाले यस्ता कुरा हरुले पनि गर्न सक्छन् । सूचना अरुसँग पनि छ भन्ने कुरा नबिर्सौँ ?’

उहाँले मुलुका सबै क्षेत्रमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत जस्ता आधारभुत आवश्यकता विगत ३५ वर्षभित्रै पुरा भएको तथ्य नबिर्सन पाण्डेको चेतावनी छ ।