काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित नेपाली राजदुत चिरनजंग थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सोमवार संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै थापाले नेपालको राष्ट्रिय हित र कुटनीतिक क्षमता अभिवृद्धि आफ्नो प्राथमिकतामा रहने बताउनुभएको हो । थापाले अमेरिकामा कन्सुलर सेवाको भारलाई व्यवस्थापन गर्न नविनतम उपाय अपनाउने योजना सुनाउनुभयो ।
उहाँले सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिँदै आवश्यक परे बिदाको दिनमा पनि सेवा प्रवाह गर्न र बजेट व्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो ।
अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली नागरिक र त्यहाँको डायस्पोराको बलियो सञ्जाललाई नेपालको विकास र सांस्कृतिक सम्पदा फिर्ता ल्याउने कार्यमा उपयोग गरिने उहाँको भनाइ छ ।
सुरक्षा सहयोगका सन्दर्भमा थापाले संयुक्त राज्य अमेरिकाले दिँदै आएको सहयोगको प्रशंसा गर्दै त्यसलाई नेपालको आवश्यकता र प्राथमिकताअनुसार परिचालन गर्ने जिकिर गर्नुभयो । उहाँले पछिल्लो समय प्रविधि र साइबर सुरक्षा क्षेत्रमा देखिएका चुनौती सामना गर्न प्रविधि हस्तान्तरणमा विशेष पहल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारको निर्देशन र गाइडलाइन्सभित्र रहेर पिस किपिङ र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा अमेरिकी सहयोगलाई अझ प्रभावकारी बनाउन म सक्रिय हुनेछु । नेपालको राष्ट्रिय हितभन्दा ठूलो अरू केही हुँदैन । मलाई कुनैपनि संस्था वा व्यक्तिसँगको सम्बन्धले मेरो कुटनीतिक कार्यमा बाधा पुर्याउने छैन ।’
अमेरिकामा आफू पढ्दा र काम गर्दा बनाएका व्यक्तिगत सम्पर्कहरूलाई कुटनीतिक पहुँच विस्तार गर्न र दुई देशबीचको उच्चस्तरीय भ्रमणको वातावरण तयार पार्न प्रयोग गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
कुटनीतिलाई ‘सम्झाउने र मनाउने कला’ भन्दै आफ्नो अनुभव र कुटनीतिक सञ्जालको अधिकतम उपयोग गरेर नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिज्ञा गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्