Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ९ विदेशीसहित ३५ जनालाई काठमाडौँ ल्याइयो


0
Shares

काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हालसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ।

नेपाली सेनाका अनुसार बाढी प्रभावितको उद्धारका लागि एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट परिचालित फौज खटिएका छन्। उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ ल्याइएको छ।

उद्धार गरिएकामध्ये जगतबाट १७ जना, यारुबाट २२ जना, ठूलोढुङ्गाबाट १३ जना, दोभानबाट ३ जना, फिलिमबाट २ जना, न्याक्फेदीबाट १७ जना, पायुबाट १२ जना, नामरुङबाट ३ जना, देङ्गबाट ३ जना र धौलीबाट ३ जना रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएका छन् ।

यसैबीच, बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलको विकल्पमा बेलिब्रिज जडान गर्ने तयारीसमेत अघि बढाइएको छ। त्यसका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली परिचालन गरिएको छ।