काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको बताउनुभएको छ ।
उहाँले सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै तीन दिनअघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताउनुभयो । उहाँकाअनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी गर्ने प्रणालीलाई समेत थप दिगो बनाउने काम अघि बढाइएको छ ।
मन्त्री श्रेष्ठले प्रशान्त महासागरमा विकसित भइरहेको ‘सुपर एल निनो’ को सम्भावित प्रभावबारे पनि मन्त्रालयले जिम्मेवारी सम्हालेको शुरुवाती चरणमै अध्ययन गरी त्यसको प्रभावबारे व्याख्या गरिएको बताउनुभयो ।
जलवायु परिवर्तनसँगै वर्षाको स्वरूपमा समेत परिवर्तन देखिन थालेकाले पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउन आवश्यक रहेको बताउँदै विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताउनुभयो ।
उहाँकाअनुसार पूर्वसूचनासँगै स्थानीय तहसम्म जनचेतना अभिवृद्धि, विपद् पूर्वाअभ्यास र सूचना प्राप्त भएपछि अपनाउनुपर्ने प्रक्रियासमेत स्पष्ट हुन आवश्यक छ ।
मन्त्री श्रेष्ठले पछिल्ला बाढी तथा पहिरोका घटनामा नदीको जलस्तर मापन र निगरानीका लागि राखिएका केही उपकरणसमेत बगेकाले आगामी दिनमा थप दिगो प्रविधि प्रयोग गर्नुपर्ने बताउनुभयो ।
रसुवा बाढीमा टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा राखिएका संरचना बगाएको उल्लेख गर्दै उहाँले जोखिमयुक्त स्थानमा उपकरण जडान गर्दा त्यसको दिगोपनालाई समेत ध्यान दिनुपर्ने बताउनुभयो । यद्यपि, केही तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीले प्रभावकारी रूपमा काम गरेको उहाँले बताउनुभयो ।
मजुवा बस्ती, भरतपुर र सुस्तालगायतका क्षेत्रमा पूर्वसूचनाले सम्भावित जोखिमबारे समयमै जानकारी गराउन सहयोग पुगेको उहाँको भनाइ छ । श्रेष्ठकाअनुसार जापानमा भूकम्पलगायत विपद्का लागि नियमित पूर्वअभ्यास गरिएझैं नेपालमा पनि स्थानीय तहसम्म विपद् पूर्वअभ्यासको संस्कार विकास गर्नुपछ ।
२०७२ सालको भूकम्प, मेलम्चीलगायतका बाढी तथा पछिल्ला वर्षहरूमा देखिएका असामान्य वर्षाका घटनाले विपद्पूर्व तयारीलाई नियमित अभ्यासका रूपमा अघि बढाउनुपर्ने देखाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हाम्रो मन्त्रालयमा जल तथा मौसम पूर्वानुमानको जिम्मेवारी हुँदा हामीलाई सुरुमै के थाहा थियो भने हाम्रो पूर्वानुमान प्रविधि तीन दिन अगाडिसम्मको मात्रै थियो । यसपटक भने हामीले सात दिन अगाडिसम्मको पूर्वानुमान गर्नसक्ने प्रणाली विकास गरेका छौँ । हामीले जिम्मेवारी सम्हालेकै बेला प्रशान्त महासागरमा ‘सुपर एल निनो’ भन्ने अर्को एउटा प्रकोप विकसित हुँदै थियो । त्यसका सम्भावित प्रभावहरू के हुन्छन् भन्ने विषयमा जिम्मेवारी सम्हालेको १५ दिनभित्रै हामीले व्याख्या गरिसकेका थियौँ । अर्को, प्रविधिको कुरा गर्दा अब हामीले मौसम पूर्वानुमानसँगसँगै नदीहरूको सतह पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने आवश्यकता छ । अघिल्लो पटकको बाढीले हाम्रो नदी सतह अनुगमन गर्ने प्रविधि नै बगाएर लग्यो । त्यसपछि अब कुन–कुन ठाउँमा कस्तो प्रविधि राख्ने र त्यसलाई कसरी अझ दिगो बनाउने भन्ने विषयमा पनि सोच्नुपर्ने भएको छ । टिमुरेको प्रविधि बगायो, अर्को ठाउँको बगायो, बेत्रावतीको पनि बगायो । तर यति हुँदाहुँदै पनि तल्लो तटीय क्षेत्रमा पूर्वसूचनाले केही हदसम्म काम गरेको थियो । मजुवा बस्ती र भरतपुरमा बाढी पस्न खोजेको थियो भने सुस्तामा पनि केही समस्या देखिएको थियो । त्यसैले मलाई लाग्छ, प्रणालीको विकाससँगसँगै जनचेतना अभिवृद्धि र विपद्को पूर्वअभ्यास गर्ने अभ्यास पनि हामीले विकास गर्नुपर्छ ।’
उहाँकाअनुसार पूर्वसूचना प्रणाली, जनचेतना, पूर्वअभ्यास र स्थानीय तहबीचको समन्वयलाई एकीकृत रूपमा अघि बढाउनसके विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्युनिकरण गर्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्