काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गर्नुभएको छ ।
जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधीले विशेष महाधिवेशनले काँग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो । नेता निधीले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाउनुभयो ।
उहाँले लोकतन्त्र भनेको केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै बहुमतले मात्रै पार्टी नचल्ने तर्क गर्नुभयो । उहाँले निर्वाचन आयोगमा पेश गरिएको तथ्यांकलाई आधार मान्दै आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको दाबी गर्नुभयो ।
४६ प्रतिशतको मतलाई अवमूल्यन गरेर गरिएका निर्णयहरू अमान्य हुने उहाँको जिकिर छ । विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमहरूले पार्टीलाई जोड्न नसक्ने भन्दै उनले अब नयाँ ढंगले पार्टी संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो । हामीले शुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ तर त्यसलाई बेवास्ता गरियो । पुराना पुस्ताका नेताहरूले अझै पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्, त्यसैले हामीले अझै मिहिनेतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ । हामीले आफ्नो घरलाई अझ मजबुत बनाउनुपर्छ, गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेजस्तै परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न, तर अहिले हामीले आफ्नो संगठन निर्माणलाई नै प्राथमिकता दिनुपर्छ ।’
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधीले कार्यकर्ताहरूलाई वार्ड तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन दिनुभयो । युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र पार्टी पुनर्निर्माणका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
निधीले कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्नुभयो । उहाँँले पञ्चायत कालको उदाहरण दिँदै संगठन बलियो भए जुनसुकै अवरोध पार गर्न सकिने बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्