नवराज छत्कुली, धादिङ । नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजारलाई पुनः सडक सञ्जालमा जोड्न त्रिशूली नदीमा बेलीब्रिज निर्माणको काम तीव्र पारिएको छ।
भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार सडक सम्पर्कविहीन बनेको थियो। त्यसपछि त्रिशूली बजारलाई सदरमुकाम विदुरसँग जोड्न बेलीब्रिज निर्माण अघि बढाइएको हो।
बाढी आएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि पुल निर्माण सम्पन्न नभएपछि त्रिशूली बजारसहित उत्तरी नुवाकोटका बासिन्दालाई सदरमुकाम आवतजावतमा समस्या भइरहेको छ। अहिले सदरमुकाम आउजाउका लागि इन्द्रेणीघाटमा राखिएको तुइनबाहेक अन्य विकल्प छैन। तुइन प्रयोग गर्न स्थानीयवासीले घण्टौँसम्म पालो कुर्नुपर्ने बाध्यता छ।
विदुर नगरपालिकाले बेलीब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसन निर्माण गरिसकेको छ। फाउन्डेसन तयार भएपछि नेपाल सरकारले बेलीब्रिज उपलब्ध गराउने आश्वासन दिएको नगरपालिकाले जनाएको छ।
करिब ७२ मिटर लामो बेलीब्रिज दसैँअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढाइएको छ। पुल निर्माणका लागि तत्कालका लागि विदुर नगरपालिकाले चार करोड रुपैयाँ बजेट छुट्याएको छ।
बेलीब्रिज निर्माण सम्पन्न भएपछि उत्तरी नुवाकोटका साथै छिमेकी जिल्ला धादिङ र रसुवाका बासिन्दासमेत प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्