Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


राजनीति मात्र होइन, नेपाली समाज नै संक्रमणकालमा छः त्रिपाठी


0
Shares

काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालमा राजनीति मात्र नभई नेपाली समाजसमेत संक्रमणकालबाट गुज्रिरहेको बताउनुभएको छ ।

ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै त्रिपाठीले नयाँ–पुरानो तथा उमेर र राजनीतिक पृष्ठभूमिका आधारमा भइरहेको ध्रुवीकरणले राजनीतिक एजेन्डालाई ओझेलमा पारेको बताउनुभएको हो ।

उहाँले पुराना र नयाँ राजनीतिक दल तथा नेताबीचको ध्रुवीकरणका कारण नागरिकका विचार तटस्थ रूपमा अभिव्यक्त हुने अवस्था कमजोर बनेको दाबी गर्नुभयो । उहाँले पुराना र नयाँ राजनीतिक शक्तिबीचको टकरावका कारण नागरिकको तटस्थ आवाज दबिएको बताउनुभयो ।

पुरानाले नयाँलाई र नयाँले पुरानालाई स्वीकार नगर्ने अवस्थाले राजनीतिक एजेन्डा नै ओझेलमा परेको उहाँको भनाइ छ । त्रिपाठीले राजनीतिक संक्रमण निश्चित बिन्दुमा पुगेर अन्त्य हुन सक्ने भए पनि सामाजिक संक्रमण लामो समयसम्म रहन सक्ने बताउनुभयो ।

त्रिपाठीले भन्नुभयो, ‘अहिलेको राजनीति साह्रै ध्रुवीकृत भएको छ । ध्रुवीकरण नयाँ र पुरानो, उमेरको हिसाबले होस् या राजनीतिक हिसावले यस्तो अवस्था रहेको छ । अहिले नेपालमा राजनीति मात्र संक्रमणकालबाट गुज्रिरहेको छैन । यहाँ समाज नै संक्रमणकालबाट गुज्रिरहेको छ ।’

उहाँले पछिल्लो समय समाजमा डरको वातावरण बनेको र हिंसाका घटनालाई सहज रूपमा लिने प्रवृत्ति बढेमा समाज द्वन्द्वतर्फ जानसक्ने चेतावनी दिनुभयो ।

राजनीतिक ध्रुवीकरण र सामाजिक संक्रमणका कारण नागरिक अभियानको आवश्यकता विगतको तुलनामा अझ बढेको उहाँले बताउनुभयो । उहाँले समाजलाई शान्तिको बाटोमा डोर्‍याउनुपर्ने आवश्यकताका आधारमा नागरिक आवाज अभियान शुरु गरिएको बताउनु भयो ।