Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटमा अलपत्र ४२ भारतीय नागरिकको उद्धार


0
Shares

सञ्जय कार्की, रौतहट । भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि रौतहटको एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरेको छ।

गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला तथा उनीहरूका आश्रित १० बालक र ९ बालिका अलपत्र अवस्थामा भेटिएका थिए।

भारतीय ठेकेदारमार्फत कामका लागि ल्याइएको भए पनि ठेकेदार सम्पर्कविहीन भएपछि उनीहरू अलपत्र परेको जानकारी पाएपछि उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले बताउनुभयो। अलपत्र परेका भारतीय नागरिकको जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरी उद्धार गरिएको हो।

घटनाबारे आवश्यक अनुसन्धानपछि प्रहरीले बुधबार साँझ ५ बजे सबै ४२ जनालाई उद्धार गरी ना।७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सार हुँदै सीमावर्ती भारतीय प्रहरीको जिम्मा लगाइएको गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (I/C AHTU, 20 Bn SSB F Coy) बर्गिनिया का प्रहरीलाई सकुशल जिम्मा लगाइएको प्रहरीले जनाएको छ।