काठमाडौं । दसैंका लागि घर फर्किने यात्रुको चाप बढ्न थाले पनि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने विषय अझै टुंगो लाग्न सकेको छैन। यातायात व्यवस्था विभागले सरोकारवाला पक्षसँग छलफल गरी बुकिङ खुलाउने मिति निर्धारण गर्ने तयारी गरे पनि व्यवसायीसँग औपचारिक छलफल हुन सकेको छैन।
यातायात व्यवसायीहरूले भने दसैं नजिकिँदै गर्दा यात्रुको संख्या बढिरहेकाले अग्रिम टिकट बुकिङ तत्काल सुरु गर्नुपर्ने बताएका छन्। यसपटक दसैंसँगै नेपाली कांग्रेसको महाधिवेशनसमेत रहेकाले सार्वजनिक यातायातमा यात्रुको चाप थप बढ्ने व्यवसायीहरूको भनाइ छ।
यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउन थालिएको छ। नयाँ बसपार्क, कलंकी, नागढुंगा, कोटेश्वर र चाबहिललगायतका स्थानमा सहायता कक्ष स्थापना भइसकेका छन् भने अन्य ठाउँमा पनि केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी छ।
यसैगरी, दसैंअघि सडक यातायात सहज बनाउन बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत तथा अवरोध हटाउने कामलाई तीव्रता दिइएको छ। मनाङतर्फको सडक सञ्चालनमा आए पनि म्याग्दी–मुस्ताङ सडकखण्डमा केही स्थानमा अझै समस्या रहेको छ।
बाढीका कारण बागलुङ–पर्वत जोड्ने कालीगण्डकी पुलको पहुँच सडकमा समेत क्षति पुगेको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक बगाएपछि नुवाकोट र रसुवाका विभिन्न सडकखण्डमा पनि यातायात प्रभावित बनेको छ।









प्रतिक्रिया दिनुहोस्