काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको पुरानो मूल्य र मान्यताको रक्षा गर्दै कार्यशैली र संस्कारमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा आईतवारबाट शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले काँग्रेसको पहिचान केवल चुनाव जित्ने र पद प्राप्त गर्ने खेलमा सिमित हुन नहुने भन्दै संगठनलाई जनताको दुःखमा साथ दिने बलियो शक्ति बनाउनुपर्ने बताउनुभएको हो ।
थापाले पार्टीको वैचारिक जग वीपी कोइराला र गणेशमान सिंहको त्यागबाट निर्मित भएको स्मरण गराउँदै काँग्रेसको विचार र मूल्यलाई कायमै राखेर काम गर्ने शैली, भाषा, सोच र संस्कृति बदल्नुपर्ने बताउनु भयो । उहाँले संगठनको अर्थ केवल कार्यालय वा अधिवेशन मात्र नभएर जनतासँगको जीवन्त सम्बन्ध भएको प्रस्ट पार्नुभयो ।
उहाँले पार्टीभित्रको सांगठनिक शिथिलतालाई चिर्दै कार्यकर्ताहरूलाई वडा तहसम्म पुगेर जनतासँग एकाकार हुन निर्देशन दिनुभयो । पार्टी पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिलाई लिएर उठेका प्रश्नमा उहाँले संयमित प्रतिक्रिया दिँदै देउवाको मान राख्न कुर्सी खाली राखेको तर नआउनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेस हुनुको अर्थ केवल पार्टीको झण्डा बोक्नु, नारा लगाउनु वा चुनावमा उम्मेदवार उठाउनु र जिताउनु मात्र होइन । नेपाली काँग्रेस त्योभन्दा धेरै माथिको विचार, मूल्य र आदर्शबाट बनेको पार्टी हो । हामी बदलिन आएका छौँ । बदलिनुको अर्थ आफ्नो मूल्य र आत्मा त्याग्नु होइन, वीपी कोइराला र गणेशमान सिंहले स्थापित गरेका आदर्शलाई निरन्तरता दिँदै हाम्रो शैली, भाषा, व्यवहार, सोच, संस्कार र कार्यशैली परिवर्तन गर्नु हो । महाधिवेशन सकिएपछि फोटो खिचेर फर्किने होइन । प्रत्येक प्रतिनिधि वडा–वडामा पुगेर संगठनलाई जनतासँग जोड्नुपर्छ । संगठनको अर्थ पार्टी कार्यालय वा अधिवेशन मात्र होइन । किसान, युवा, अल्पसंख्यक वा अप्ठ्यारोमा परेको जुनसुकै नागरिकले पार्टी खोज्दा उसको साथमा उभिन सक्नु नै संगठन र काँग्रेस हुनुको वास्तविक अर्थ हो ।
शेरबहादुर देउवाप्रति सम्मान केवल उहाँको ढोकामा गएर सलामी दिएर होइन, उहाँले काम गर्नुभएको पार्टीलाई अझ अग्लो, बलियो र फराकिलो बनाएर गर्नुपर्छ । काँग्रेस छोडेर जानुभएका साथीहरूलाई पनि हामी भन्न चाहन्छौँ, तपाईंहरूले कांग्रेस छोड्नुभएको होइन, हाम्रो व्यवहारका कारण काँग्रेसले तपाईंहरूलाई छोडेको हो । तपाईंहरूको मनमा चोट पु¥याएको हामी स्वीकार गर्छौँ । अब काँग्रेस फेरि तपाईंहरूलाई जोड्न आउनेछ । यही संकल्पका साथ काँग्रेसलाई नयाँ ऊर्जा, नयाँ शैली र जनतासँग अझ गहिरो सम्बन्ध भएको पार्टी बनाऔँ ।’
महाधिवेशनबाट पारित हुने कार्यदिशाले काँग्रेसलाई नयाँ उचाईमा लैजाने उहाँको विश्वास छ ।









प्रतिक्रिया दिनुहोस्