Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


नियन्त्रित लोकतन्त्र जनतालाई स्वीकार्य छैन : शरतसिंह भण्डारी


0
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनैपनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । 

काठमाडौंको खुलामञ्चमा आईतवारदेखि प्रारम्भ भएको नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सम्बोधन गर्दै मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको उल्लेख गर्नुभएको हो ।

उहाँले वर्तमान चुनौतीहरू पार लगाउन प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता अपरिहार्य रहेको औंल्याउनु भयो । नेता भण्डारीले प्राकृतिक विपद्, आर्थिक मन्दी, बढ्दो बेरोजगारी र युवाहरूको तिब्र विदेश पलायनले मुलुक आक्रान्त बनेको बताउनुभयो ।

उहाँले गत महिना भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । वर्तमान संविधानलाई समयानुकूल परिमार्जन र संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप समावेशी र परिणाममुखी बनाउनुपर्नेमा नेता भण्डारीले जोड दिनुभयो । उहाँले संविधान संशोधन र समावेशी राज्य निर्माणको जसपाको अभियानमा नेपाली काँग्रेसको सशक्त साथ रहने विश्वास लिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउँदै मुलुकलाई पूर्ण समावेशिताको बाटोमा अघि बढाउने जसपा नेपालको अभियानमा नेपाली कांग्रेसको बलियो साथ र समर्थनको अपेक्षा गर्दछु । नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन । नेपाली जनताले लोकतन्त्रको कुनैपनि संकुचन स्वीकार गर्ने छैनन्। लोकतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय र जनअधिकारको संरक्षणका लागि राजनीतिक दलहरूबीचको सहकार्य र एकतालाई अझ मजबुत बनाउन आवश्यक छ ।’
बदलिँदो संवेदनशील भू–राजनीतिक परिवेशमा नेपालले सन्तुलित कुटनीति अवलम्बन गरेर मात्र राष्ट्रिय हितको रक्षा गर्न सक्ने उनको भनाइ छ । लोकतन्त्र, सङ्घीयता, सामाजिक न्याय र जनअधिकारको सङ्कुचन हुन नदिन सचेत रहनुपर्ने उल्लेख गर्नुभयो ।