वीरगञ्ज । जनमत पार्टीको नयाँ केन्द्रीय कार्यसमिति आज चयन हुने भएको छ। पर्साको वीरगञ्जमा शनिबारदेखि जारी पार्टीको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भइसकेको छ भने शनिबार राति ९ बजेदेखि मतगणना सुरु भएको छ।
महाधिवेशनबाट २६ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिँदैछ। निर्वाचनमा १ हजार १५५ जना प्रतिनिधिले मतदान गरेका छन्।
अध्यक्ष पदमा डा. सिके राउतको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। यद्यपि, पार्टी विधानमा अध्यक्षका लागि कम्तीमा २० प्रतिशत सदर मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले राउतको पक्षमा पनि मतदान गरिएको छ।
अन्य पदमा भने प्रतिस्पर्धा छ। सात उपाध्यक्ष पदका लागि ११ जना, महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि नौ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस्तै, ७३ जना कार्यकारिणी सदस्य पदका लागि प्रतिस्पर्धामा छन्।
महाधिवेशनको उद्घाटन समारोहमा पार्टी अध्यक्ष डा. सिके राउतसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुली, नेकपाका मातृकाप्रसाद यादव र उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलगायतले सम्बोधन गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्