काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक गतिविधि र उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ।
स्थानीय तहका उम्मेदवार टुंगो लगाउन पार्टीले महामन्त्री विपिन आचार्यको नेतृत्वमा रहेको केन्द्रीय उम्मेदवार छनोट समितिलाई विस्तार गरेको हो। समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी थपिएका छन्। सातै प्रदेशका सभापतिहरू समितिका स्वतः सदस्य रहनेछन्।
निर्वाचन तयारीकै क्रममा रास्वपाले ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। असोज २० देखि २७ गतेसम्म चल्ने अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू देशभरका ७५३ वटै स्थानीय तहमा पुग्नेछन्।
स्थानीय नागरिक, पार्टीका सदस्य तथा विभिन्न सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै सुझाव लिने अभियानको उद्देश्य रहेको रास्वपाले जनाएको छ। अभियानमा केन्द्रीय सदस्य र सांसदलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको छ।
केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न विभागमा नयाँ जिम्मेवारीसमेत बाँडफाँड गरेको छ। प्रवास सम्पर्क विभागको नेतृत्व मनिष झा, आर्थिक व्यवस्थापन विभागको जिम्मेवारी डा. मनोहर प्रधान तथा कानुनी मामिला तथा संस्थागत अनुपालन विभागको नेतृत्व मोहनलाल आचार्यलाई दिइएको छ।
सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाल र विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेललाई प्रमुख तोकिएको छ।
त्यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी विभागको नेतृत्व ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागको नेतृत्व दिपक कुमार साह, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको नेतृत्व शर्मिला खनाललाई दिइएको छ।
विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्द बहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी तथा वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी प्रमुख बनेका छन्। सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको नेतृत्व रिमा विश्वकर्मालाई दिइएको छ।
अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन) लाई जिम्मेवारी दिइएको छ।
बैठकमा मधेस प्रदेश संगठनभित्र देखिएका समस्या र समाधानका उपायबारे गठित कार्यदलको प्रतिवेदनसमेत पेस भएको छ। सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइएको र अध्ययनपछि आवश्यक निर्णय लिइने रास्वपाले जनाएको छ।
यसैगरी, पार्टीको केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकाभित्र उपयुक्त स्थानमा जमिन वा घर खरिद गर्ने तयारीसमेत अघि बढाइएको छ। त्यसका लागि उपयुक्त स्थान खोज्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई रास्वपाले आग्रह गरेको छ।










प्रतिक्रिया दिनुहोस्