खुसी माया गुरुङ, लमजुङ । लमजुङका ६ वटा विद्यालयमा १५ लाख ५७ हजार रुपैयाँ बराबरको बाल उद्यान तथा खेल सामग्री निर्माण र जडान गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको साझेदारीमा विद्यालयमा अध्ययनरत बालबालिकाका लागि सुरक्षित, मनोरञ्जनात्मक र बालमैत्री वातावरण तयार गर्ने उद्देश्यले बाल उद्यान निर्माण गरिएको हो ।
आरसिडिसीका बाल संरक्षण अधिकृत बेन्जिर थापाका अनुसार खेलकुदले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यालय परिसरमै सुरक्षित रूपमा खेल्न सक्ने वातावरण तयार गरिएको हो ।
बाल उद्यान दोर्दी गाउँपालिका–८ स्थित फलेनी माध्यमिक विद्यालय, बेँसीसहर नगरपालिका–७ को जनविकास माध्यमिक विद्यालय, वडा नं. १० को जनजागृति माध्यमिक विद्यालय, सुन्दरबजार नगरपालिका–८ को भारती सदन माध्यमिक विद्यालय, वडा नं. ९ को भक्ति नमुना माध्यमिक विद्यालय र वडा नं. २ को महेन्द्र मन्दिर माध्यमिक विद्यालयमा निर्माण तथा खेल सामग्री जडान गरिएको छ ।
बाल उद्यान निर्माणसँगै बालबालिकाले पढाइसँगै खेलकुद, मनोरञ्जन तथा सिर्जनात्मक गतिविधिमा सहभागी हुने अवसर पाउने अपेक्षा गरिएको छ । यसले विद्यालयमा बालबालिकाको नियमित उपस्थिति बढाउनुका साथै विद्यालयलाई थप बालमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
बालबालिकाको उमेर र आवश्यकतालाई ध्यानमा राखेर विद्यालय परिसरमा विभिन्न खेल तथा मनोरञ्जनात्मक सामग्री जडान गरिएको छ । यसबाट बालबालिकाले खेल्दै सिक्ने र आफ्नो शारीरिक तथा सामाजिक विकास गर्ने अवसर पाउने बताइएको छ।










प्रतिक्रिया दिनुहोस्