Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल


0
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताउनुभएको छ ।

ललितपुरमा शनिवार आयोजित कार्यक्रममा उहाँले सम्पदा, संस्कृति, मठमन्दिर र भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आफू सामान्य नागरिक भएकाले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्न आफू सधैँ तयार रहेको बताउनुभयो ।

मुलुक निर्माणमा नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले स्थानीय समुदायबाट प्राप्त सुझाव र समस्या कानुन निर्माण गर्ने तहसम्म पुर्‍याउन आफूले प्रयास गर्ने बताउनुभयो । उहाँले देशको माटो चिनाउन नेवारी र थारु समुदायको महत्वपुर्ण भुमिका रहको बताउनुभयो ।

उहाँले भन्नुभयो, ललितपुर यो संस्कृतिमा सम्पदामा मन्दिरमा भगवानको लागि मात्रै धनी होइन । देश निर्माण गर्नको लागि सम्पदा जोगाउनको लागि, संस्कृति जोगाउनको लागि नेवारी भाषालाई जोगाउनको लागि यहाँहरूको ठूलो देन छ । यो देशमा सबैभन्दा बढी माटो कसैले चिनेको छ भने सायद नेवारी समुदाय र थारु समुदाय होला जसले माटोलाई चिनेको छ । माटोसँगको त्यो सम्बन्ध विस्तार गरेको छ । देश निर्माण गर्नको लागि देशका पटक पटक देशमा भएका राजनीतिक आन्दोलनहरूमा त्यो गुठी आन्दोलन होला या अन्य कुनै आन्दोलन त्यसमा पनि नेवारी समुदाय, भ्यालीमा बसोवास गर्नुहुने दाजुभाइ दिदीबहिनीको त्यति नै महत्त्वपूर्ण योगदान छ । म धादिङमा जन्मेको मान्छे, काठमाडौं आउँदै गर्दा मेरो सुरुवातको बसोबास केही वर्ष ललितपुरको पाटन ढोकामा भएको थियो । त्यसकारणले पनि मेरो ललितपुरसँग छुट्टै सम्बन्ध छ । ललितपुरको मायाले ललितपुरको आशिर्वादले आज तपाईंहरू सबैको आशिर्वादले यो देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका मध्ये तीनवटा मध्ये एउटा व्यवस्थापिकाको कानुन निर्माण गर्ने ठाउँको जिम्मेवारी, त्यसको नेतृत्व गर्ने त्यो सौभाग्य मिलेको छ । यो तपाईंहरू सबैजनाको आशिर्वादले हो र म तपाईहरूसँग ऋणी छु। किन हामीले धेरै काम गर्नुपर्ने छ, हाम्रा छोराछोरीहरूको भविष्य निर्माणको लागि हामीले यो देशमा धेरै काम गर्न बाँकी छ, कानुनहरू निर्माण गर्न बाँकी छ, हाम्रा अग्रजहरूले छोडेर जानुभएको हामीले बिर्सन नै नहुने हाम्रा सम्पदाहरूलाई, संस्कृतिहरूलाई, मठ मन्दिरहरूलाई हामीले जोगाएर राख्नको लागि हामीले विभिन्न कानुनहरू निर्माण गर्नुपर्ने छ । त्यो ठाउँमा पुग्ने एउटा सौभाग्य मैले प्राप्त गरेको छु । त्यसमा म तपाईंहरूको कारिन्दाको रूपमा, एउटा कामदारको रूपमा तपाईंहरूले दिएको जिम्मेवारीलाई पूरा गर्ने त्यो जिम्मेवारी लिएर त्यहाँ पुगेको हुँ । म अत्यन्तै साधारण तपाईंहरूजस्तै मान्छे हुँ । मलाई बोलाउनको लागि विशेष कार्यक्रम केही चाहिँदैन । यहाँको दुःख–सुख, यहाँ के काम गर्नुपर्ने रहेछ, हामीले त्यसलाई कानुन निर्माण गर्ने ठाउँमा पुर्‍याउनलाई कोसिस गर्छु ।’

उहाँले ललितपुरको नेवारी संस्कृति र खानाप्रतिको आफ्नो रुचिसमेत व्यक्त गर्नुभयो । संग्रहालय तथा सम्पदा अवलोकनका साथै नेवारी खाना खानका लागि ललितपुर जानुपर्ने उहाँको भनाई छ ।

Skip This