रुकुम पश्चिम ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रबाट अवैध लागुऔषध (ब्राउन सुगर)सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले दुई जनालाई फरक फरक स्थानबाट पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार बिहिबारका बेलुका सानीभेरी गाउँपालिका -९ सिम्लीबजारबाट एक जना र सोही दिन सानीभेरी गाउँपालिका -८ को मध्यपहाडी राजमार्गबाट एक जनालाई नियन्त्रणमा लिईएको हो ।
उहाँले सिम्ली बजारमा डेरा गरी बस्ने दाङको तुलसीपुर उप-महानगरपालिका -३ निवासी ३३ वर्षीय टोपबहादुर सुनारलाई डेरा गरी बसेको कोठाबाटै पक्राउ गरिएको जानकारी दिनुभयो । सुनारको कोठा खानतलासी गर्दा कालो प्लाष्टिकमा प्याक गरी राखेको सात वटा पुरिया ११० मिलिग्राम तौल भएको ब्राउन सुगर फेला परेको बताउनुभयो ।
त्यसैगरी मध्यपहाडी राजमार्गमा हिँडिहेकाा मुसिकोट नगरपालिका -९ को घुर्नेटी निवासी २४ वर्षीय दिपेन्द्र डाँगीलाई पनि ब्राउन सुगरसहित पक्राउ गरिएको छ । प्रहरी निरीक्षक परियारले शंका लागेर चेकजाँच गर्दा डाँगीले लगाएको पाईन्टको गोजीमा कालो प्लाष्टिकमा प्याक गरी बनाएको पाँच पुरिया अर्थात १८० मिलिग्राम ब्राउन सुगर फेला परेको बताउनुभयो ।
ब्राउन सुगरसहित पक्राउ परेका सुनार र डाँगीलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्