Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


मधेसको स्वास्थ्य क्षेत्रमा बेथिति : सुधारको माग गर्दै मन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिए युवा


0
Shares

काठमाडाैं ।

मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा बढ्दो विकृति र बेथिति अन्त्य गर्न असफल भएको आरोप लगाउँदै मधेस युवा सञ्जालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको तत्काल राजीनामा माग गरेको छ ।

आफ्ना मागहरूमाथि मन्त्रालयले कुनै सुनुवाई नगरेको र जिम्मेवार निकायले बेवास्ता गरेको भन्दै सञ्जालले जनकपुरधामस्थित मधेस भवन अगाडि विरोध प्रदर्शन गरेको हो । मधेस युवा सञ्जालले प्रदेशको स्वास्थ्य सेवालाई पारदर्शी र जनमुखी बनाउन भन्दै यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो ।

तोकिएको समयसीमाभित्र सरकारले ठोस कार्ययोजना सार्वजनिक नगरेको र स्वास्थ्यमन्त्रीसमेत ज्ञापनपत्रको विषयमा अनभिज्ञता प्रकट गरेको भन्दै युवाहरू आक्रोशित बनेका छन् । सञ्जालका प्रतिनिधि किसन साहकाअनुसार स्वास्थ्य सेवा कुनै राजनीतिक वा प्रशासनिक विषय नभई नागरिकको मौलिक अधिकारसँग जोडिएको गम्भीर मुद्दा हो ।
उहाँले भन्नुभयो, ‘हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मन्त्रालयले कुनै सुनुवाइ गरेन। सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील नदेखिएकाले स्वास्थ्यमन्त्रीले पदमा बसिरहने नैतिक आधार गुमाइसकेका छन् ।’

प्रदर्शनकारीहरूले प्रदेशका अस्पतालहरूमा देखिएको चरम लापरवाहीको श्रृंखलाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सञ्जालले प्रादेशिक अस्पताल जनकपुरधाममा नवजात शिशुको मृत्यु, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरी महिलाको दयनीय अवस्था र जनकपुरकै मुस्कान अस्पतालमा शल्यक्रियापछि भएको बिरामीको मृत्युको घटनालाई मुख्य मुद्दा बनाएको छ ।

यस्ता घटनाहरू बस्वास्थ्य प्रणालीको असफलताको प्रमाण भएको भन्दै सञ्जालले दोषीमाथि तत्काल कारबाही र प्रदेशको सम्पूर्ण स्वास्थ्य सेवाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको छ। सरकारले नागरिकको ज्यानसँग खेलबाड गर्ने प्रवृत्ति नरोके थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने सञ्जालले चेतावनी दिएको छ ।

Skip This