काठमाडाैं । जनकवि तथा अक्षरमहर्षि दुर्गालाल श्रेष्ठको साहित्यिक योगदानको स्मरण गर्दै ‘अक्षरयात्रा–दशक आठ’ तथा स्मृति समारोह आयोजना गरिएको छ । बसन्त चौधरी फाउन्डेसन र दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
स्मृति समारोहमा श्रेष्ठको साहित्यिक यात्रालाई लामो साधना र सिर्जनाको यात्राका रूपमा प्रस्तुत गरिएको थियो । नेपाली तथा नेपालभाषा साहित्यमा उहाँको योगदान, कविता तथा गीतमार्फत व्यक्त सामाजिक चेतना र भाषाप्रतिको अनुरागलाई कार्यक्रममा विशेष रूपमा स्मरण गरियो । श्रेष्ठले साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई मानवीय संवेदना, सामाजिक चेतना र भाषिक पहिचान अभिव्यक्त गर्ने माध्यमका रूपमा स्थापित गर्न योगदान पुर्याएको चर्चा पनि गरियो ।
कार्यक्रममा जनकवि श्रेष्ठको योगदान पुरानो पुस्तामा मात्र सीमित नभई नयाँ पुस्ताका साहित्यकर्मीका लागि समेत प्रेरणाको स्रोत बनेको महसुश गरियो । उहाँले अक्षर र शब्दप्रतिको लगावमार्फत सिर्जनामा इमानदारी, मानवीय संवेदना र भाषाप्रतिको जिम्मेवारीको महत्व स्थापित गरेको भन्दै प्रशंसा गरिएको थियो । ‘अक्षरयात्रा–दशक आठ’को मूल भाव पनि जनकवि श्रेष्ठको यही साहित्यिक यात्रालाई सम्झनु र उहाँबाट प्राप्त सिर्जनात्मक संस्कारलाई निरन्तरता दिनु रहेको थियो ।
कार्यक्रममा स्वर्गीय श्रेष्ठप्रति श्रद्धासुमन व्यक्त गर्नुका साथै भाषा, साहित्य र सिर्जनाप्रतिको उहाँको समर्पणलाई निरन्तरता दिनुपर्ने सन्देशसमेत दिइएको छ । आयोजक संस्थाहरूले उहाँको साहित्यिक योगदानलाई स्मृतिमा मात्र सीमित नराखी अक्षर र सिर्जनाको यात्रामार्फत अघि बढाउने भाव प्रस्तुत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्