यःसिंको अर्थः
नेपालभाषामा यःको अर्थ मनपर्ने र सिँ भन्नाले काठ हुन्छ । चाडपर्वसँग सम्बन्धित विशेष अवसरमा ठड्याउने काठलाई यःसिँ भन्ने गरेको पाइन्छ । श्रुती परम्पराको व्यापक प्रयोग हुँदैआएको नेपालभाषामा श्रुतीसमभिन्नार्थक शब्द धेरै हुनाले पर्व विशेषमा ठड्याउने काठलाई यःसिं, यःसिँ, यःसि, ल्यःसिं, ल्यःसिंद्यः, लिङ्गो, इन्द्रध्वज, विश्वध्वजको रुपमा उच्चारण गरेको पाइन्छ ।
आकारमा लामो, ठाडो काठको दण्ड/स्तम्भ भएकाले नेपाली भाषामा सामान्य बुझाइका लागि ‘लिङ्गो’ भनिन थालिएको हो । सांस्कृतिक रूपमा भने यःसिंलाई केवल लिङ्गो वा काठको खम्बा/दण्ड मात्र मान्नु उचित नहुने आम बुझाइ छ । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबार अगाडि ठड्याउने यःसिं इन्द्रजात्राको महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक प्रतीक हो । झट्ट सुन्दा लिङ्गो अशिष्ट शब्दको रूपमा रहेको छ । त्यसैले पनि काठमाडौंमा इन्द्रजात्राको लागि यःसिं ठड्याउने जिम्मेवारी पाएको केन्द्रीय मानन्धर संघले सांस्कृतिक प्रयोजनमा प्रयोग हुँदैआएको रानी सल्लाको रूखलाई यःसिं वा इन्द्रध्वज मात्र उच्चारण गर्न अनुरोध गरेको छ ।
यःसिंलाई इन्द्रजात्राको मुख्य प्रतीकको रूपमा काठमाडौंको कालभैरव अगाडि ठड्याउँछन् । यःसिंको टुप्पोमा हलिंपताः (ध्वजा) फहराउने परम्परा रहेको छ । रुखलाई यःसिंको रुपमा स्वीकार गरेसँगै नागदेवताको रुपमा हलिंपताः फहराएर अक्षता र दक्षिण चढाएर पूजा हुन्छ । एक हप्तासम्म मनाउने इन्द्र महाराजसँग सम्बन्धित जात्राको सुरुआत भएको प्रतीकको रुपमा काठमाडौंमा इन्द्रध्वज ठडयाउँछन् ।
यःसिं ठड्याउने परम्पराः
विभिन्न अभिलेखहरुले इन्द्रजात्रा तथा इन्द्रध्वजोत्थानको परम्परा लिच्छविकालमै विकास भएको प्रस्ट हुन्छ । शिवदेव–अंशुवर्माको समयका अभिलेखमा इन्द्रसम्बन्धी गुठी–पर्वका संकेत भेटिन्छन् । केही इतिहासकारले त्यसै आधारमा लिच्छविकालमै इन्द्रध्वजोत्थान सुरु भइसकेको मान्छन् । तर यःसिं नै त्यही समयमा ठड्याइन्थ्यो भनेर स्पष्ट रूपमा प्रमाणित गर्ने अभिलेख भने छैन ।
यःसिं ठड्याउने विश्वव्यापी परम्पराः
धार्मिक अनुष्ठानमामा अग्लो काठ वा ध्वजा ठड्याउने परम्परा सबैभन्दा स्पष्ट रूपमा नेपालमा भेटिन्छ । माल्दिभ्स र अफगानिस्तान बाहेक सार्क राष्ट्रका बंगलादेश, भुटान, भारत र पाकिस्तानमा पनि सोही बमोजिमको परम्परा विद्यमान छ । काठमाडौंको इन्द्रजात्रा र फागु पर्वमा, भक्तपुरको बिस्का जात्रामा काठको स्तम्भ उठाएर पर्व मनाउने परम्परा परापूर्व कालदेखिको हो । कतिपय ठाउँमा किंवदन्तीसँग जोडेर इन्द्रजात्राको बखत यमाद्यःको रुपमा हात्ती सबार रहेका इन्द्र देवतालाई काठको स्तम्भमा उठाइन्छ । छिमेकी देश भारतका हिमाली भूभाग तथा उत्तर भारततर्फ विभिन्न ध्वजदण्ड धार्मिक अनुष्ठानमा भेटिन्छन् । नेपालसँग ठ्याक्कै मेल नखाएपनि ध्वजा आरोहण परम्परा भारतमा पनि पुरानै हो । त्यस्तै, बेलायत तथा युरोपका विभिन्न देशमा मेपोल परम्परा नेपालको यःसिं परम्परासँग संरचनागत रुपमा मेल खान्छ । इतिहासकार बाबुराम आचार्यले पश्चिमा देशमा अग्लो काठको खम्बा ठड्याएर त्यस वरिपरि नाचगान गर्ने परम्परा रहेको उल्लेख गरेका छन् ।
गुणकामदेवसँग जोडिएको परम्परागत मान्यताः
लोक–ऐतिहासिक परम्पराअनुसार काठमाडौंका राजा गुणकामदेव (करिब १०औँ शताब्दी) ले काठमाडौं स्थापना गर्दा इन्द्रजात्रा सुरु गरेको मानिन्छ । त्यसैले कतिपय स्रोतले यःसिं÷इन्द्रध्वजको परम्परालाई पनि गुणकामदेवकै समयसँग जोड्छन् । तर यो परम्परागत मान्यता हो, निश्चित अभिलेखीय प्रमाण भने होइन ।
मल्लकालसँग यःसिंको सम्बन्धः
मल्लकालमा इन्द्रजात्रा राजकीय पर्वका रूपमा विकसित भएको देखिन्छ । त्यस समयमा चिकंमुगलको अट्कोनारायण मन्दिर अगाडि इन्द्रध्वज÷यःसिं ठड्याउने चलन रहेको उल्लेख पाइन्छ ।
हनुमानढोका–कालभैरव अगाडि यःसिं ठड्याउने परम्पराः
मल्लकालमा अट्कोनारायण मन्दिर अगाडि उठाउने यःसिंलाई शाहकालमा स्थान परिवर्तन गरेर हनुमानढोका अगाडि सुरुआत गरिएको बुझ्न सकिन्छ । शाहवंशीय राजा प्रतापसिंह शाहको पालामा हालको हनुमानढोका–कालभैरव क्षेत्रतर्फ सारिएको वंशावलीमा उल्लेख छ । कतिपयले रणबहादुर शाहको पालादेखि हनुमानढाका दरबार अगाडि यःसिं ठड्याउने परम्पराको सुरुआत गरेको बताउँछन् । स्रोतहरूबीच केही मतभेद रहेपनि आधुनिक नेपाल निर्माण पश्चात् शाहवंशीय राजा पृथ्वीनारायण शाहपछि हालको कालभैरव अगाडि यःसिं ठड्याउने परम्पराको सुरुआत भएको बुझ्न सकिन्छ ।
यःसिंको प्राविधिक विषयः
इन्द्रजात्राको लागि ठड्याउने यःसिंको सम्पूर्ण जिम्मेवारी मानन्धर समुदायको हो । भक्तपुर र काभ्रे जिल्लाको सिमानामा अवस्थित चित्तपोल जङ्गलदेखि काठमाडौंसम्म तानेर ल्याउनेमा फरक निकायसँग समन्वय गरेको हुन्छ । रानी सल्लाको रूख छनोट, पूजाविधि, तान्ने प्रक्रिया, ठड्याउने तथा ढालेर विसर्जन गर्नेसम्मको जिम्मेवारी केन्द्रीय मानन्धर संघको संयोजनमा विभिन्न गुथिहरुले गरेको हुन्छ । संघमा आवद्ध रहेको काठमाडौंको तँलाछि टोलको नेतृत्वमा च्याम्हसिंह भक्तपुरदेखि काभ्रेको नाला जाने बाटोतर्फ ताःथलिमाथि सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित सल्लाघारी वनमा पुगेर रानी सल्लाको रुख छनोट गर्ने परम्परा रहेको छ । वनमा पुगेर रुख छनोट गर्ने र क्षमापूजाको लागि फागु पर्व सकेर जाने गरेको छ । हनुमानढोका दरबारका मूल पूजारीमार्फत क्षमापूजा गराएर ताःथलिबासीको सहयोगमा गुथिका थकालीले पूजाविधि गरेको हुन्छ ।
पूर्वीय दर्शनमा रुख विरुवा पनि प्राण भएको सजिव बस्तु भएकोले रुख काट्नु अघि आनुष्ठानिक विधिको क्षमापूजा हुँदैआएको बताइएको छ । त्यस पश्चात् रुख लिन जानको लागि वन प्रस्थान गर्ने, काट्ने, नगर प्रवेश गराउने, ठड्याउने तथा ढाल्नेसम्मको साइत सरकारी स्तरबाटै सार्वजनिक गरे बमोजिम संघले सम्पन्न गरेको हुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाउँमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले खगोलिय विज्ञान बमोजिम ग्रह, नक्षत्रको गणना गरेर शुभसाइत उल्लेख गरेर गुठी संस्थानको नाउँमा पत्र काटेको हुन्छ । सोही पत्रको बोधार्थ उपलब्ध भए बमोजिम संघले विभिन्न सरकारी निकाय तथा समुदायसँग समन्वय गरेर यःसिं सम्बन्धिका सम्पूर्ण प्राविधिक काम सम्पन्न गरेको हुन्छ ।
यःसिंको पहिलो दिनः
प्रत्येक वर्ष नेपाल संवत् तिथि बमोजिम ञलाथ्व तृतीयाको दिन बिहान हनुमानढोका दरबारमा मूल पूजारीमार्फत टिका लगाइदिएर वन प्रस्थानको लागि संघका पदाधिकारी, विभिन्न गुठीका गुठीयारहरुलाई शुभसाइत गरेको हुन्छ । सो दिन संघले नेवार प्रचलन बमोजिमको सम्बन्धित सरोकारवालालाई बेतालि (सेतो कपडा शिरमा धारण गर्ने) लगाइदिएको हुन्छ । नाला वन नामाङ्करण गरिएको सल्लाघारीमा रुख लिनजाने महानुभावहरुलाई धार्मिक र परम्परागत तरिकाले शुभसाइत गरेपछि नेपाली सेना अन्तर्गतको श्री शार्दूल जङ्ग गुल्मका गुरुजुको पल्टनले बन्दुक पड्काएर तोप बढाइँ दिने प्रचलन रहेको छ । तिथिको थपघटले कुनैबेला वन प्रस्थानको साइत द्वितीयामा पर्ने गरेको छ ।
सोही दिन राती जङ्गल पुगेर संघका सभापति वा संघले निर्धारण गरेका आदरणीय व्यक्तिमार्फत बलिपूजा सहितको क्षमापूजा सकेर पञ्चाङ्गले उपलब्ध गराएको निर्धारित समयमा रुख काट्ने गरेको छ । रुख काट्ने र पूजाविधिमा बाधाविघ्न नहोस् भन्ने कामना गरेर जङ्गलमा गुरुजुको पल्टनले वनदेवी, नाला भगवती, करुणामय, भैरव तथा विभिन्न देवीदेवताहरुको नाममा सलामी अर्पण गरेर तोप बढाइँ दिने प्रचलन रहेको छ ।
जङ्गलमा तोप पड्काएपछि वरपर ताःथलि, नाला क्षेत्रका महिलाहरुले हरितालिका तीजको लागि दर खाने प्रचलन रहेको छ । सोही राती संघका पदाधिकारीहरुले सिकाःभू (मौलिक भोज) खान्छन् ।
यःसिंको दोस्रो र तेस्रो दिनः
गएराती शुभसाइतमा काटिएको रुखलाई हरितालिका तीजको दिन तानेर काठमाडौंतर्फ लगिन्छ । करिव १८ किलोमिटरको दूरमा अवस्थित रुखलाई नाला वनदेखि फैढोका, च्याम्हसिंह, जगाती, सूर्यविनायक, शंखधर चोक थिमि, कोटेश्वर, बानेश्वर, भद्रकाली हुँदै भोटाहिटीसम्म पु¥याउँछन् । भोटाहिटी पुगेर काठमाडौं नगर प्रवेश गर्ने मुख्यबिन्दुमा अवस्थित मण्डलासँग यःसिं व्यवस्थापन गरेको हुन्छ । साधारणतयाः दुईदिन लगाएर तान्ने यःसिंलाई केही वर्ष एकैदिन तानेर पु¥याएको उदाहरण छ । यःसिं तानेर भक्तपुरदेखि काठमाडौं पु¥याउँदा संघले नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, स्थानिय ताःथलिबासी तथा बाटो पर्ने ठाउँका विभिन्न गुथि तथा खलःसँग समन्वय गरेको हुन्छ । नेपाली सेनाले सुरुदेखि गन्तव्यसम्म स्कर्टिङ गर्दै आएको छ भने ट्राफिक, जनपथ र नगर प्रहरीले आआफ्नो क्षेत्रमा समन्वय गर्दैआएको छ ।
नगर प्रवेशः
तिथि बमोजिम ञलाथ्व अष्टमी (कायाष्टमी) को दिन शुभसाइतमा भोटाहिटीदेखि हनुमानढोका दरबारसम्म यःसिं तान्छन् । यःसिं तान्नेमा सबैसबै जोडिएपनि विशेषगरी संघमा जोडिएको धालासिक्व टोलले नेतृत्व गर्ने, थँहिटी टोलका मानन्धरहरुले बाजा बजाएर स्वागत गर्छन् ।
यःसिं ठड्याउने र इन्द्रजात्रा सुरु भएको संकेत दिनेः
अष्टमी तिथिमा तानेर हनुमानढोका पु¥याएको यःसिंलाई कालभैरव र कागेश्वर मन्दिर अगाडि द्वादशीको शुभसाइतमा ठड्याउँछन् । यःसिं ठड्याउनु अघि प्रथाजन्य प्रविधिमार्फत यःसिंलाई डोरीले बाँध्ने काम चस्वांद्वँ टोलका मानन्धररुहले गर्छन् । पञ्चाङ्गले उपलब्ध गराएको शुभसाइतमा यःसिं ठड्याए पश्चात् काठमाडौंमा विधिवत रुपमा एक हप्तासम्म मनाइने इन्द्रजात्राको सुरुआत हुन्छ । यःसिं उठाउने दिन सरकारी संयन्त्रदेखि स्थानियबासीको उल्लेख्य सहभागिता रहन्छ । त्यस्तै ञलागा तृतीया तिथिमा यःसिं ढाल्छन् । इन्द्रजात्रा सुरु भएको संकेत दिने यःसिं ठड्याएसँगै पुलुकिसी, मजिपाः लाखे, देवी नाच, हलचोक भैरव नाच, दागिं परम्परा, बौमतको प्रचलन, आकाश भैरव, श्वेत भैरव, बाकादेय् भैरव दर्शनको लागि प्रदर्शनी, ठाउँ ठाउँमा इन्द्र भगवानलाई डोरीले बाँधेर राखेको प्रतिकात्मक विम्ब, महांकाली नाच, दस अवतार नाटकदेखि अन्य थुप्रै नाचहरु प्रदर्शनी गरिन्छन् । इन्द्रजात्राको मुख्य आकर्षणको रुपमा गणेश, कुमारी तथा भैरवको रथयात्रा हुन्छ । जिवित देवी कुमारी रथयात्रामा राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति, सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री तथा सरकारका उच्च ओहदाका सम्पूर्ण महानुभावहरु सहभागी हुन्छन् । राष्ट्र प्रमुखले दक्षिणा चढाएर कुमारी दर्शन गर्ने परम्परा विद्यमान छ । यी सम्पूर्ण सांस्कृतिक गतिविधि सुरुआत भएको संकेत दिने यःसिं परम्पराका प्रत्येक गतिविधिमा गुरुजुको पल्टनले राजकीय सम्मान स्वरुप सलामी अर्पण गरेर तोप बढाइँ दिन्छन् ।
यःसिं ठड्याइ सकेर हलिंपलाः फहराउने:
यःसिं ठड्याएसँग ८ वटा लाकासिँ (अष्टमातृकाका प्रतीक)ले घेरेर टुप्पोमा हलिंपताः फहराएको हुन्छ । त्यस्तै यःसिंको ठिक सामुन्ने सुनको इन्द्र भगवान विराजमान गराएको हुन्छ । विशुद्ध धार्मिक, सांस्कृतिक र प्राविधिक विषय भएकोले जोखिम न्यूनिकरणको कामना गर्दै अष्टमातृकाको उपस्थितिमा इन्द्र भगवान विराजमान गराएर पूजाविधि गरेको हुन्छ । संघमै आवद्ध रहेको दैसाः टोलले गुरुजु (बज्राचार्य)मार्फत पूजा गरेर हलिंपताः फहराउने परम्परालाई निरन्तरता दिएका छन् ।
यःसिं किन ठड्याउँछन् ?
विश्वास र मान्यताको आधारले इन्द्र भगवानलाई वर्षा तथा उर्वरताका देवता मान्छन् । त्यसैले इन्द्रलाई सम्मान गर्दै ध्वजा स्थापना गर्ने र वर्षा तथा समृद्धिको कामना गर्ने परम्परा रहेको बताइन्छ । धार्मिक अर्थमा पनि इन्द्रध्वजा स्थापनाले भगवानप्रतिको सम्मान नै हो ।
गुठी संस्थान र न्हेसः नायः
यःसिं परम्परासँग मानन्धर समुदाय, न्हेसः नायः र गुठी संस्थान अन्तर सम्बन्धित रहेको छ । समुदायका विभिन्न सांस्कृतिक गतिविधिलाई नेतृत्व दिन र नेपाल सरकारको गुठी संस्थानसँग समन्वय गर्न धालासिक्व मानन्धर सनाः खलःबाट न्हेसः नायः (तत्कालीन काठमाडौंका ७ सय मानन्धरहरूका सर्वसम्मत नाइके/अध्यक्ष) सदावहार कार्यसमितिको पदेन रहने व्यवस्था छ । २०५५ सालमा तयार गरेको संघको विधान बमोजिम सभापति २ वर्षे कार्यकाल, उपसभापतिदेखि पदाधिकारी र सदस्यहरु ४ वर्षे कार्यकाल तथा न्हेसः नायः सदावहार पदेन रहने व्यवस्था छ । विशुद्ध सांस्कृतिक र जटिल प्राविधिक विषयको काम गर्नुपर्ने भएर संघका पदाधिकारी परिवर्तन भएपनि न्हेसः नायः वंशानुगत (बाजेपछि छोरा, छोरापछि नाती न्हेसः नायः हुने व्यवस्था) रुपमा पदेन रहने व्यवस्था गरिएको पाइन्छ । न्हेसः नायःले यःसिंको लागि आर्थिक सहकार्य गर्ने गुठी संस्थान, यःसिं तान्नेमा सहकार्य गर्ने स्थानिय ताःथलिबासी तथा अन्य सम्बन्धित निकायसँग समन्वय गर्दछ । न्हेसः नायःलाई सहज बनाउनको लागि केन्द्रीय मानन्धर संघले समग्र यःसिंको क्षेत्रमा संयोजन गर्दछ ।
(लेखक केके मानन्धर पेशाले सञ्चारकर्मी र आमसञ्चार तथा पत्रकारिता विषयका अध्यापक हुन् । हाल उहाँ केन्द्रीय मानन्धर संघका सचिव पदमा बहाल छन् ।)










प्रतिक्रिया दिनुहोस्