Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


ग्रे लिस्टबाट बाहिरिन व्यवसायीलाई समातेर मात्रै हुँदैन, सरकारले विश्वसनीय काम गर्नुपर्छः पुर्वअर्थमन्त्री डा. खतिवडा


117
Shares

काठमाडाैं ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नसकिने बताउनुभएकाे छ ।

काठमाडौंमा अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौति र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने बताउनु भयो । पूर्वगभर्नरसमेत रहनुभएका उहाँले ग्रे लिस्टबाट बाहिरिने नाममा अनावश्यक रुपमा बैंकका कर्मचारी तथा बैंकरलाई पक्राउ गर्ने वा दबाब दिने कार्य गर्न नहुने बताउनुभयो ।

अपराध पुष्टि नभएको अवस्थामा अदालतबाट छुट्ने भएकाले त्यस्ता कदमले अपेक्षित परिणाम नदिने उहाँको भनाइ छ । उहाँले ग्रे लिस्टबाट बाहिरिनका लागि अन्तर्राष्ट्रिय निकायले कार्यान्वयन र परिणाम खोज्ने बताउनुभयो । त्यसको लागि सरकारले विश्वसनीय रूपमा काम गरेर परिणाम देखाउनुपर्ने उहाँको भनाई छ । ग्रे लिस्टबाट बाहिरिन नसके बैंकिङ प्रणाली, अन्तर्राष्ट्रिय व्यापार र पुँजी प्रवाहमा असर पर्ने उहाँले बताउनुभयो ।

नेपाललाई विगतमा ग्रे लिस्टबाट बाहिर निकाल्न निकै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उहाँले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यो घरजग्गाको मूल्य, सेयर बजार, यो त आन्तरिक चक्करमा परिरहेका छौँ । यदि हामी ग्रे लिस्टबाट निस्कन सकेनौँ भने बैंकिङ सिस्टममा के होला ? तपाईंहरूको इन्टरनेसनल ट्रेड के होला ? क्यापिटल फ्लो के होला ? ग्रे लिस्टबाट निस्कन भनेर बैंकरहरूलाई च्याप्पच्याप्पी पकडेर लगेर समातेर चाहिँ त्यो केही पनि हुँदैन, किनभने अपराध हुँदैन, अदालतले छुटाइदिन्छ । सरकारले क्रेडिब्ली काम गर्नुप¥यो र रिजल्ट देखाउनुप¥यो ।

त्यो रिजल्टको आधारबाट सरकारको मूल्याङ्कन हुन्छ ।’ नेपाल ग्रे लिस्टबाट बाहिरिनका लागि सरकारले आवश्यक सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाई छ ।