Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


संविधानको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : रवि लामिछाने


104
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान एक जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासका आधारमा यसको परिमार्जन र संशोधन हुन सक्ने बताउनुभएको हो ।

‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ,’ लामिछानेले सन्देशमा भन्नुभएको छ, ‘तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ ।’

उहाँले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गर्नुभएको छ । यद्यपि, नेपालको परिप्रेक्ष्यमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उहाँको निष्कर्ष छ ।

‘लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्छन्,’ उहाँको शुभकामना सन्देशमा भनिएको छ ।

रास्वपाले सामाजिक लोकतन्त्रमैर्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट लिएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।  विद्यमान बेथिति र कमजोरीहरूलाई सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्न आजको दिन सबैभन्दा उपयुक्त भएको उहाँले बताउनुभएको छ ।

बलियो राज्यका लागि बलिया संस्थाहरू आवश्यक पर्ने भन्दै उहाँले संविधान दिवसले सबै राजनीतिक शक्ति, राज्यका अङ्गहरू र आमनागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।