काठमाडाैं । सडक डिभिजन काठमाडौंले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बीच डिभिजनले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरुलाई एपबारे ब्रिफिङ गराएको हो ।
एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्ने व्यवस्था रहेको डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ । प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने उहाँले बताउनुभयो । देवकोटाले समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्ने बताउनुभयो ।
सडक डिभिजन काठमाडौंका प्रमुख सुवोधकुमार देवकोटाले विस्तारै यो प्रणालीसँग भक्तपुर र ललितपुरलाई समेत जोडिने पनि बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर तथा स्वयंसेवक परिचालन गर्न सडक डिभिजन काठमाडौंलाई सुझाव दिनुभयो ।
कर्मचारीमार्फत नियमित सडक निरीक्षण गर्दा लागत बढ्नसक्ने भन्दै इनड्राइभ, पठाओलगायतका राइड सेयरिङ कम्पनीका चालकलाई सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सडक निरीक्षणमा परिचालन गर्न सकिने प्रश्ताव गर्नुभयो ।
सांसद बमले चावहिलदेखि रिङरोडका निश्चित खण्डमा राइडर परिचालन गरी साप्ताहिक रूपमा सडकको अवस्थाबारे तथ्यांक संकलन गरी मर्मत कार्य गर्न सकिने बताउनुभयो ।
रास्वपा सांसद गणेश पराजुलीले काठमाडौं उपत्यकाका निर्माणाधीन तथा बिग्रिएका सडकलाई शीघ्र पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै तहको सरकारबीच आपसी समन्वय र सहकार्य गरी विकास निर्माणका कामलाई तिब्रता दिनुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्