Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना


78
Shares

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले रसुवा र भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको ‘हिम नदी डिजास्टर’का रूपमा बुझेर सरकारले नयाँ विपद् व्यवस्थापन नीति बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रानाले भोटेकोशी वा रसुवा बाढी भनेर मात्र घटनालाई परिभाषित गर्दा विपद्को प्रकृति स्पष्ट नहुने बताउनुभएको हो ।

हिमपहिरो तथा हिउँ पग्लिने क्रमबाट बनेको पानीको ठूलो बहावले नदीमा असामान्य बाढी ल्याएको भन्दै उनले यसलाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले ग्लोवल वार्मिङका कारण वर्षौंदेखि जमेर बसेको हिउँ पग्लिने तथा हिमताल फुट्ने जस्ता घटनाबाट यस्ता विनाशकारी विपद् निम्तिन सक्ने बताउनुभयो ।

आगामी दिनमा यस्ता जोखिमलाई ध्यानमा राखेर वैज्ञानिक अध्ययनमा आधारित बस्ती विकास तथा विपद् व्यवस्थापन नीति आवश्यक रहेको उहाँको भनाइ छ । रानाले नदी करिडोरमा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दा उनीहरूको सम्पतीको अधिकारसमेत सुरक्षित हुनेगरी स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँकाअनुसार नदी किनारबाट निश्चित दूरी कायम गरी बस्ती विकास गर्ने कानूनी व्यवस्था भएपनि व्यवहारमा जोखिमयुक्त स्थानमा बस्ती बसिरहेका छन् । अब वैज्ञानिक अध्ययनका आधारमा सुरक्षित स्थान पहिचान गरी त्यहाँ व्यवस्थित बस्ती विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नागरिकलाई विद्युत, सडक, खानेपानीलगायत आधारभूत सेवा तथा सुविधाको सुनिश्चितता गर्नुपर्ने र विपद्मा सम्पती गुमाएका परिवारलाई सरकारले सक्दो सहयोग उपलब्ध गराउनुपर्ने रानाको भनाइ छ ।