काठमाडौं । सैन्य शैलीको पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको ‘ग्रिन आर्मी’विरुद्ध दायर रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
ग्रिन आर्मीको संरचना, पोशाक, दर्जा तथा चिह्न प्रयोगको विषयमा अधिवक्ता साम्ब राज अर्यालसमेतले उत्प्रेषणयुक्त परमादेशको माग गर्दै रिट दायर गर्नुभएको थियो ।
अदालतले विपक्षीमध्ये १ देखि ७, ९ र १० का हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा ८ र ११ का हकमा आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनेको छ ।
रिट निवेदकले अन्तरिम आदेशसमेत माग गरेकामा अदालतले निवेदनको विषयवस्तुको प्रकृति र गम्भीरतालाई ध्यानमा राख्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षबीच छलफल गर्नु उचित हुने जनाएको छ ।
अन्तरिम आदेशबारे छलफलका लागि सर्वोच्चले असोज ५ गते पेसी तोकेको छ । उक्त पेसीको जानकारी विपक्षीलाई समेत दिन अदालतले आदेश दिएको छ ।









प्रतिक्रिया दिनुहोस्