Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


महाकाली किनारमा भिडियो बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता


143
Shares

प्रकाश भट्ट, कञ्चनपुर । महाकाली नदी किनारमा भिडियो बनाउने क्रममा कञ्चनपुरकी १५ वर्षीया किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् ।

दोधारा चाँदनी नगरपालिका–१० स्थित महाकाली नदी किनारमा सोमबार मध्यान्ह भिडियो बनाउने क्रममा स्थानीय सृष्टी सुनार नदीमा बगेकी हुन् ।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवाको टोलीले किशोरीको खोजी तथा उद्धार सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलका अनुसार बीओपी सुन्दरनगरबाट सशस्त्र प्रहरी निरीक्षक दिलीप खड्काको कमान्डमा सात जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा परिचालन गरिएको छ ।

घटनास्थल बीओपी सुन्दरनगरबाट करिब ५–६ किलोमिटर दक्षिणमा रहेको सिग्देलले बताउनुभयो । उहाँका अनुसार सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभातकुमार गौतमको कमान्डमा थप सात जनाको टोली रबर बोटसहित घटनास्थलमा खटाइएको छ ।

नेपाल प्रहरी र स्थानीय युवाको टोलीसमेत खोजी तथा उद्धारमा परिचालित छन् । महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । दोधारा चाँदनी नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अमृत विकका अनुसार किशोरीको खोजी कार्य जारी छ ।

यसैबीच, सोमबार दिउँसो महाकाली नदीमा १ लाख ३० हजार क्युसेक पानीको बहाव मापन गरिएको जिल्ला विपद् व्यवस्थापन आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ । सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा र भारतको उत्तराखण्डमा समेत वर्षा भइरहेकाले महाकालीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकालीसहित नदी तथा खोलानालाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।