Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजा-आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण


0
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ पाटनमा रहेकाे कृष्ण मन्दिरमा पूजा आरधाना गरी भगवान् श्रीकृष्णको दर्शन गर्नुभएकाे छ।

राष्ट्रपति पौडेलले भगवान श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेलसहित पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएकाे हाे। फुल प्रसाद ग्रहणपछि उहाँले मन्दिरका पुजारीलाई दक्षिणा प्रदान गर्नुभयाे।

कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल र महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ लगायतले स्वागत गरेका थिए।

राष्ट्रपति पाैडेल कृष्ण मन्दिर पुग्दा ललितपुर क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री जगदीश खरेल, बागमती प्रदेशका कार्यवाहक सभामुख अप्सरा चापागाईँ, पूर्वमन्त्री मदुसुधन पौडेल, प्रेमभक्त महर्जन र प्रदेश सभासद रघुनाथ महर्जन समेत उपस्थित भएर स्वागत गरेका थिए।

मन्दिरमा दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गर्नुभएको हाे। भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।