प्रकाश भट्ट-संवाददाता
कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका १ सय ८६ जनाको नाम सम्पर्कविहीनको सूचीमा परेको छ।
प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र सुदूरपश्चिम जसमध्ये ४१ जना परिवार तथा आफन्तको सम्पर्कमा आएकाे जनाएकाे हाे । सम्पर्कमा आएका ४१ जनामध्ये कैलालीका २५, कञ्चनपुरका १० र डडेलधुराका ६ जना रहेका छन्। उनीहरूमध्ये ६ जना महिला र ३५ जना पुरुष रहेका हुन्।
अझै सम्पर्कमा नआएका १ सय ४५ जनामध्ये १४ महिला र १ सय ३१ जना पुरुष रहेका छन्। जिल्लागत रूपमा कैलालीका ६३, कञ्चनपुरका ३०, डडेलधुराका १७, बाजुराका १६, बैतडीका ८, दार्चुलाका ४, डोटीका ३ तथा बझाङ र अछामका २-२ जना छन्।
१ सय ८६ जनाको विवरणलाई भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमबासीको अन्तिम सङ्ख्या मान्न नसकिने जनाइएको छ। परिवार तथा आफन्तले जिल्ला प्रशासन, स्थानीय तह र प्रहरीसमक्ष सम्पर्कविहीन भन्दै टिपाएका नामका आधारमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणलाई एकीकृत गरिएको हो।
केन्द्रले सम्पर्कविहीनको विवरण संकलन तथा अद्यावधिक गर्ने काम अझै जारी रहेकाले संख्या थपघट हुनसक्ने जनाएको छ। सम्पर्क स्थापित भएका व्यक्तिको विवरण पनि निरन्तर अद्यावधिक भइरहेको छ। स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा रहेका व्यक्तिको अवस्थाबारे जानकारी लिने तथा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको केन्द्रले जानकारी गराएकाे हाे।
भोटेकोशी बाढीपछि आफ्ना परिवारका सदस्य तथा आफन्तसँग सम्पर्क हुन नसक्दा सुदूरपश्चिमका विभिन्न जिल्लामा परिवारजन चिन्तित भएका छन्। केही व्यक्ति सम्पर्कमा आए पनि ठूलो सङ्ख्यामा अझै सम्पर्क स्थापित हुन नसकेपछि आफन्तहरूले खोजी तथा उद्धारलाई तीव्रता दिँदै आफ्ना परिवारका सदस्यको अवस्था यकिन गरिदिन सम्बन्धित निकायसँग आग्रह समेत गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्