शुभकला राई, ओखलढुंगा ।
भोटेकोशी र त्रिसुली नदीमा आएको बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले करिब १० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने भएका छन् ।
गाउँपालिकाका सबै जनप्रतिनिधि र गाउँपालिका मातहतका राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सेवा सुविधा र तलब भत्ता सरकारले घोषणा गरेको आधिकारिक राहत कोषमा जम्मा गर्ने भएका हुन् ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नौ वटै वडाका वडाध्यक्षहरूले आफ्नो एक महिनाको सेवा सुविधा कोषमा उपलब्ध गराउने तयारी गरिएको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । खिजीदेम्बा गाउँपालिकाका जनप्रतिनिधिको सेवा सुविधाबाट करिब साढे चार लाख रुपैयाँ सहयोग हुने उहाँको भनाइ छ ।
यस्तै गाउँपालिका मातहतका कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूले पनि ऐक्यबद्धता जनाउँदै ३ दिन बराबरको तलबभत्ता कट्टा गरी आधिकारिक कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । खिजीदेम्बा गाउँपालिकाका राष्ट्रसेवक कर्मचारीबाट करिब साढे पाँच लाख रुपैयाँ सहयोग हुने अध्यक्ष शेर्पाको भनाइ छ ।
विपतको घडीमा सबै पक्ष एकजुट भई राहत तथा उद्धार कार्यमा जुट्न गाउँपालिका अध्यक्ष शेर्पाले अनुरोध गर्नुभएको छ । उक्त बाढीका कारण खिजीदेम्वा गाउँपालिकाका १० जना नागरिक हालसम्म सम्पर्कविहीन रहेकाले खोज तथा उद्धारका लागि पहल भइरहेको अध्यक्ष शेर्पाको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्