३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


दार्जिलिङसहितको भूभाग भारतले फिर्ता दिनुपर्छः नेकपा नेता दीनानाथ शर्मा


0
Shares

काठमाडौं, असार ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य एवं पूर्वमन्त्री दीनानाथ शर्माले भारतले दार्जिलिङसहितको भूभाग नेपाललाई फिर्ता दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा शर्माले अंग्रेजले हडपेको नेपालको दार्जिलिङ, काँगडालगायत जमिन तपाईंहरूको नासो हो भन्दै भारतले सगौरव फिर्ता गर्नुपर्ने तर्क गरे ।

बैठकमा शर्माले भने, ‘यदि भारतले नेपाललाई असल मित्र ठान्छ भने अंग्रेजले लुटेको जमिन भारतबाट अंग्रेज भागिसकेपछि फिर्ता गर्नुपर्छ । भारतले सगौरव हामीलाई दार्जिलिङ फिर्ता गरिदिनुपर्छ । अंग्रेजले लुटेको यो तपाईंहरूको नासो हो भनेर काँगडासम्मको जमिन फिर्ता गर्नुपर्छ ।’

लिम्पियाधुरासहितको नक्शा संविधानको निशान छापमा राख्ने संविधान संशोधन विधेयक पारित गर्न बसेको बैठकमा उनले अंग्रेजले लुटेको जमिन अंग्रेज भारतबाट भागिसकेपछि भारतले नेपाललाई फिर्ता लिनुस् भन्नुपर्नेमा बरु ‘हामीले मागेका छैनौं’ भने ।

नेपालले भारतलाई मित्र ठानेर कालापानीलगायत ठाउँमा पहिले सुरक्षा पोष्ट राख्न दिएको तर्क गर्दै उनले भने, ‘नेपालले उत्तरी सीमामा चेकपोस्ट राख्न अनुमति दियो । अप्ठेरो परेको बेला बास बस्न दियो तर बास बस्न आउनेले यो बारी, घर सुन्दर रहेछ भनेर छोड्दिनँ भन्न मिल्छ ?’

कालापानीलगायत क्षेत्रमा राखेको सेना छिटो फिर्ता लैजान आग्रह गर्दै शर्माले, ‘कुनै पनि साम्राज्यवादी बुटले हाम्रो भूमि अपवित्र बनाउन सक्दैन । भारतीय मित्रले नेपालीको सम्मान गर्नुपर्छ । भारतीय सेना जान्छन् भन्ने प्रतीक्षा थियो । तर नक्शामा नेपालको भूमि पा¥यो । आफ्नो भूमि दाबी ग¥यो । त्यो दुःखको विषय हो ।’

भारतसँगको युगौंदेखिको मित्रता बिगार्न नेपाले नचाहेको भन्दै उनले भारतीय जनताले लिम्पियाधुरा, कालापानी लिपुलेक आफ्नो दाबी नगरे पनि शासक र सेनाले कब्जा गरिरहेको आरोप लगाए ।

प्रतिनिधि सभाबाट पारित भइसकेको संविधान संशोधन विधेयक विहीबार राष्ट्रिय सभाबाट पारित गरिँदैछ । दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संविधानको अंग बन्नेछ ।