Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


बाजुराको कटीगाउँमा पहिरोका कारण २ घरमा क्षति

१४ घरधुरीलाई सुरक्षित स्थानमा सारियाे

0
Shares

जनक बाेहरा-संवाददाता

बाजुरा। बाजुराको गौमुल गाउँपालिका-३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि १४ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।

बिहीबार दिउँसो अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले दुई घर विस्थापित भएसँगै अन्य उच्च जोखिममा रहेका १४ परिवारलाई पनि स्थानान्तरण गरिएको हाे। जिल्ला प्रहरी कार्यालय बाजुराले पहिरोले विस्थापितसहित १४ घरधुरीका १ सय १५ जनालाई लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि स्थानीय देवेन्द्र धामीको खाली जमिनमा त्रिपालको टहरा बनाएर राखिएको जनाएकाे छ।

घरमाथिबाट पहिरो खस्दा कटीगाउँका ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको ढुङ्गा–माटोले बनेको तीन तले घर पूर्ण रूपमा क्षति थियो । अहिले प्रहरी, जनप्रतिनिधि, स्थानीयसहित लागेर घरभित्र पुरिएका सामान निकाल्ने काम भइरहेको छ। प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेश बहादुर शाहीले भारी वर्षाका कारण समस्या भएको जनाएको हाे। घटनामा मानवीय क्षति भने भएको छैन् ।

पहिरोले पुर्णिमल बोहराको घरमा रहेको अन्नपात, भाँडाकुँडा र लत्ताकपडा लगायतका सामानमा क्षति पुगेको छ। गोठमा रहेका तीन वटा गाई पुरिएको प्रवक्ता शाहीले जानकारी दिनुभयाे । त्यस्तै, बुदी बोहराको घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, दुई गाई, एक कुखुरा र सात वटा खरायो पुरिएको छ।

घटनापछि उक्त गाउँका थप १२ वटा घरसमेत पहिरोको उच्च जोखिममा रहेका छन् । जोखिममा रहेका १२ र पूर्ण रूपमा क्षति भएका दुई गरी १४ घरधुरीका परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको हाे। घटनाकाे बारेमा वडा नम्बर ३ का अध्यक्ष गोरखबहादुर बोहराले प्रहरीलाई जानकारी गराउनुभएकाे थियाे । जानकारी लगत्तै इलाका प्रहरी कार्यालय गौमुलबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर शाहुको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली राति घटनास्थल पुगेको हाे।

लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम कायमै रहेको स्थानीयहरुले बताएका छन् । पहिरोका कारण घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्रीको आवश्यकता रहेको स्थानीय हिमाल बोहराले बताउनुभएकाे छ। गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले घटना लगत्तै राहत सामग्रीसहित पालिकाको टोली खटिएको बताउनुभयाे।

अध्यक्ष रोकायाले लगातारको वर्षाका कारण थप क्षति हुन सक्ने भएकाले आवश्यक शर्तकता अपाउन आग्रह गर्नुभएकाे छ ।