Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


नेपालगञ्ज-पोखरा हवाई उडान भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुँदै

टिकट बुकिङ पनि खुला

234
Shares

काठमाडाैं। लामो समयदेखि रोकिएको नेपालगन्ज-पोखरा नियमित हवाई सेवा यहि भदौको अन्तिम हप्तादेखि पुनः सञ्चालन हुने भएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यहि भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको हाे । बुद्ध एयर नेपालगन्जका प्रमुख विनितविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएकाे छ। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको हाे । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो ।

प्रमुख शाहले भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको बताउनुभएकाे छ। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको हाे। तालिका अनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुने भएकाे छ। त्यसका लागि टिकट बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको हाे। नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा ३ दिन नेपालगन्ज–पोखरा उडान शुरु गरिएको थियो ।