सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा ‘रेड पाण्डा म्याराथन-२०२६’ को तेस्रो संस्करणकाे आयोजना हुने भएको छ।
दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र यसको बासस्थान पुनर्स्थापनाका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यहि भदौ २० गते ‘रेड पाण्डा म्याराथन-२०२६’ को तेस्रो संस्करण आयोजना हुने भएकाे हाे। स्थानीय साझेदार संस्था हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले रेड पाण्डा नेटवर्कको आयोजना र प्ले फर नेचरको मुख्य आर्थिक सहयोगमा हुन लागेको यस प्रतियोगिताले पर्यटीय जिल्ला सोलुखुम्बुको तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्याउने लक्ष्य राखिएको बताउनुभयाे।
हिमाली वातावरण र अमूल्य प्राकृतिक सम्पदाको संरक्षणबारे नयाँ पुस्तामा जिम्मेवारी बोध गराउन यस्ता खेलकुद कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय रेड पाण्डा दिवसको अवसरमा आयोजना हुने उक्त म्याराथन सल्लेरीस्थित २ हजार ३ सय ६० मिटर उचाइमा रहेको थेकछेन पेमा छोलिङ गुम्बाबाट शुरु भई ४ हजार ५४ मिटर उचाइको पिके पिकसम्म पुगेर पुनः सोही स्थानमा फर्किने जनाइएको छ । कूल ४८ किलोमिटर लम्बाइ र २ हजार ८ सय ७२ मिटर भन्दा बढी उचाइ हुने यो ट्रेललाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनले ३ पोइन्ट प्रदान गर्ने भएकाे छ।
अनुभवी ट्रेल धावकहरूका लागि कठिन मानिएको यो कोर्स ७ घण्टा ३० मिनेटभित्र पूरा गर्नुपर्ने सीमा तोकिएको हाे । यस वर्षको म्याराथनमा पहिलो पटक ५ किलोमिटर लामो ‘रेड पाण्डा फन रन’ पनि समावेश गरिएको छ । थेकछेन पेमाछोलिङ गुम्बाबाट शुरु भई सल्लेरीको सेर्गा खोप हुँदै फाप्लु गुम्बामा पुगेर टुङ्गिने यो दौड सबै उमेर र क्षमताका सहभागीको अवसर रहको हाे ।
विशेष गरी स्थानीय समुदायको सहभागितालाई प्रोत्साहन गर्न ल्याइएको यस फन रनमा प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दयाहाङ राईको समेत उपस्थिति रहने अध्यक्ष शेर्पाले बताउनुभयो । इच्छुक धावकहरूले संस्थाको आधिकारिक वेबसाइटमार्फत अनिवार्य रूपमा दर्ता गराउनुपर्ने भएकाे छ।
म्याराथनका विजेता महिला तथा पुरुष धावकहरूलाई छुट्टाछुट्टै नगद पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको हाे । ४८ किलोमिटर म्याराथनतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ५० हजार र ३० हजार रुपैयाँ प्रदान गरिने भएकाे छ।
त्यस्तै, फरेस्ट गार्डियन विधाका उत्कृष्ट तीनलाई २५ हजार, २० हजार र १० हजार तथा ५ किलोमिटर फन रनका शीर्ष चार विजेतालाई २५ हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार रहेको छ । दौड पूरा गर्ने सबै धावकलाई फिनिसर मेडल प्रदान गरिने भएकाे हाे ।
यसअघि सन् २०२४ मा ताप्लेजुङको पाथीभरा र सन् २०२५ मा इलाममा सम्पन्न भएका दुई संस्करणमा नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र जापानका गरी १ सय ४० धावकले सहभागिता जनाएका थिए । वनमा मानिसहरूले नदेखेका धेरै अमूल्य प्राकृतिक सम्पदाहरू रहेको र रेड पाण्डा जसमध्ये एक भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाले यस्ता कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदालाई नजिकबाट बुझ्न र यसको संरक्षण गर्नु वर्तमान तथा भावी पुस्ताको साझा जिम्मेवारी हो भन्ने कुरा सम्झाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्