काठमाडौं । म्यानपावर व्यवसायीहरुले साेमबारदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन् ।
सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावरहरूले श्रमिक नै पठाउन बन्द गर्ने भएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ । साेही माग सम्बोधन नभएको भन्दै सोमबारदेखि देशैभरिका म्यानपावर व्यवसायीका कार्यालय बन्द गर्ने जनाएको हो ।
संघ अध्यक्ष डिकबहादुर खत्रीले सम्पूर्ण म्यानपावर व्यवसायीले पूर्वनिर्धारित कार्यतालिका अनुसार आफ्ना कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताउनुभयाे । संघले ७ साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारलाई १५ बुँदे माग अघि सारेको थियो । जसमा वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने र वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायत माग रहेका छन् ।
संघले सरकारसँगको वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढाएको हाे। शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्रालयसँग प्रारम्भिक चरणको छलफल भएको थियो । छलफलमा व्यवसायीहरुले अघि सारेका मागका विषयमा ब्रिफिङ गर्नुका साथै आफ्नो धारणा समेत राखेका थिए । त्यस्तै, मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्य विवरणका विषयमा मन्त्रालयका अधिकारीहरूले धारणा राखेका थिए ।
१५ बुँदे माग अघि सारेका व्यवसायीले मुख्य मागका रूपमा ‘सेवा शुल्क’ लाई बटम लाइन बनाएका छन् । अध्यक्ष खत्रीले सोमबार छलफल गरी एउटा निष्कर्ष निकाल्ने र त्यसलाई मन्त्री समक्ष पेश गर्ने तयारी रेहकाे बताउनुभयाे । श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले समेत दुवै पक्षबीच भएको प्रारम्भिक छलफलले सहमतिको वातावरण तयार पारेको र साेमबारसम्म ठोस निष्कर्ष निस्कने सम्भावना रहेको दावी गर्नुभएकाे छ।
प्रवक्ता घिमिरेले व्यवसायीहरूसँगको पहिलो चरणको बसाइ ‘क्लाइमेट सेटिङ’ र विषयवस्तुमा केन्द्रित रहेको बताउनुभयाे।









प्रतिक्रिया दिनुहोस्