Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली


0
Shares

इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा आजदेखि सुरु भएको पार्टीको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

“आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि एमाले सधैँ प्रतिबद्ध छ”, ओलीले भन्नुभयो, “सबैको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्छ ।”

एमालेले विगतदेखि समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको वकालत गर्दै आएको दाबी गर्दै अध्यक्ष ओलीले विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नेभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा लाग्नुपर्ने बताउनुभयो ।

बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको साङ्गठनिक अवस्था, आगामी कार्ययोजना, आदिवासी जनजातिको सवाल एवं समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।