काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको नीति निर्माण प्रक्रियामा युवाहरूको प्रत्यक्ष सहभागिता र नवीन सोच अपरिहार्य रहेको बताउनुभएको छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित ‘परराष्ट्र ग्रीष्मकालीन फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम २०२६’ को समापन तथा शोध प्रतिवेदन सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा मन्त्री खनालले नेपालको सार्वजनिक प्रशासन र सरकारी संयन्त्र अझै पनि पुरानै शैलीबाट सञ्चालित रहेको टिप्पणी गर्नुभयो । मन्त्री खनालले सरकारी सेवामा प्रवेशका लागि लोक सेवा आयोगको परीक्षा मात्र एकमात्र बाटो हुन नहुने तर्क गर्दै युवा विज्ञहरूलाई नीतिगत योगदान पुर्याउने वैकल्पिक अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विदेशमा उच्च शिक्षा हासिल गरेका नेपाली युवाहरूलाई प्राप्त भएको ज्ञान र अनुभवलाई नेपालको समृद्धिमा जोड्न यो कार्यक्रमले सेतुको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । आठ हप्तासम्म सञ्चालित उक्त फेलोसिप कार्यक्रममा सहभागीहरूले स्वास्थ्य, श्रम तथा आप्रवासन, जलवायु परिवर्तन र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता समसामयिक विषयमा अनुसन्धान गरेका थिए । मन्त्री खनालले शोधार्थीहरूको कार्यकुशलता र अनुसन्धानबाट प्राप्त सुझावहरू नीति निर्माणका लागि मार्गदर्शक हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो सार्वजनिक प्रणाली धेरै हदसम्म १९ औँ र २० औँ शताब्दीको संरचनामा आधारित छ । जलवायु परिवर्तन, आर्टिफिसियल इन्टेलिजेन्स र अत्याधुनिक प्रविधिले ल्याएका चुनौतीहरूको सामना गर्न पुरानो सोच मात्र पर्याप्त हुँदैन । यसका लागि युवा पुस्ताको ताजा दृष्टिकोण आवश्यक छ ।’
मन्त्री खनालले आगामी दिनमा यस कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निकट भविष्यमै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमार्फत एक वर्ष अवधिको ‘दीर्घकालीन फेलोसिप’ कार्यक्रम शुरु गर्ने घोषणा समेत गर्नुभयो । यस्तो फेलोसिपले सरकारी संयन्त्रका स्रोत, ज्ञान र सोचका सीमाहरूलाई चिर्दै नीतिगत कार्यान्वयनमा ठोस योगदान दिने उहाँको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्