Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु


0
Shares

एजेन्सी ।

यमनको उत्तरपूर्वी तेलसम्पन्न मारिब प्रान्तमा सरकारी सेना र हुथी विद्रोहीबीच भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये आठ जना हुथी लडाकु र तीन जना सरकारी सैनिक रहेको स्थानीय सैन्य अधिकारीले बताएका छन् ।

नाम नखुलाउने सर्तमा ती अधिकारीका अनुसार मारिब बाँधनजिकैको जबल अल–बाल्क मोर्चामा भएको झडपमा दुवै पक्षका कैयौँ लडाकु घाइते भएका छन् । उक्त पहाडी क्षेत्र सरकारी नियन्त्रणमा रहेको मारिब सहरनजिकै पर्छ ।

सरकारी सेनाले मारिब सहरको पश्चिम र दक्षिणमा रहेका हुथीका अखडालाई लक्षित गरी आक्रमण गरेपछि दुवै पक्षबीच भीषण गोली हानाहान भएको अधिकारीले बताउनुभयो । प्रान्तका विभिन्न क्षेत्रमा केही दिनदेखि जारी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि स्थलगत लडाइँसमेत तीव्र भएको हो ।

हुथी समूहले घटनाबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । पछिल्ला सातामा हुथीहरूले यमनमा सरकारी नियन्त्रणमा रहेका क्षेत्र तथा यमनी सरकारको प्रमुख समर्थक साउदी अरबका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र पारेका छन् । समूहले गत जुलाईमा साउदी–सम्बद्ध जहाजको आवागमनमा समुद्री प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

त्यसयता हुथीहरूले लाल सागरमा साउदी–सम्बद्ध तेल ट्याङ्कर तथा साउदी अरबका ऊर्जा संरचनामा आक्रमण गरेको दाबी गर्दै आएका छन् । सरकारी सेनामाथिको आक्रमणलाई साउदी समर्थित सैन्य परिचालनको जवाफ तथा साउदी भूभागमा गरिएका आक्रमणलाई आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमाथिको नाकाबन्दीको प्रतिकारका रूपमा हुथीहरूले व्याख्या गरेका छन् ।

सन् २०१४ को अन्त्यतिर हुथीहरूले राजधानी साना लगायत उत्तरी यमनका अधिकांश भूभाग कब्जा गरेपछि देश द्वन्द्वमा फसेको हो । अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सन् २०१५ मा साउदी अरबको नेतृत्वमा गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा अप्रिल २०२२ मा युद्धविराम लागू भएको थियो । औपचारिक रूपमा त्यसको अवधि छ महिनापछि समाप्त भए पनि पछिल्लो समयसम्म कमजोर युद्धविराम कायम रहँदा ठूला स्थलगत भिडन्तमा कमी आएको थियो । पछिल्ला सातामा भने यमनमा तनाव पुनः बढेको छ ।