काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औं बोर्ड बैठक यहि साउन २८ गते बिहीबार बस्ने भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आह्वान गरेको बोर्ड बैठकमा ९ वटा एजेन्डा तोकिएकाे हाे । मन्त्रालयमा बस्ने बोर्ड बैठकमा मुख्यतः डेढ महिनापछि हुन लागेको २०औं एशियाली खेलकुद र १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मुख्य प्राथमिकतामा रहेको छ । पहिलो एजेन्डा एशियाली खेलकुदको सहभागिता सम्बन्धी छ । एसियाडमा समावेश हुने खेल र सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलहरूको अनुमोदन पहिलो विषय छ । राखेपले एसियाडमा २२ खेलका १ सय ३६ खेलाडी र ३२ प्रशिक्षकलाई सहभागिता गराउने निर्णय गरिसकेको हाे ।
शुरुमा २९ खेल पठाउने गृहकार्य भएकोमा पछि १६ हुँदै २३ खेल सहभागिता गराउने निष्कर्षमा राखेप पुगेको थियो । पछि इस्पोर्ट्सलाई पराजित गर्दै २२ खेलको निश्चितता भएको राखेपले जनाइसकेको छ । एसियाडको निम्ति प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०८३, २०औँ एशियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धी बजेट तथा नम्स पनि बैठकमा पेश हुने भएकाे हाे ।
दोस्रो एजेन्डा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी छ । पटक पटक सर्ने क्रममा दुई वर्ष ढिला भइसकेको कर्णालीमा हुने राष्ट्रिय खेल आगामी मंसिर महिनामा हुने बताइएको छ । बैठकमा दशौँ राष्ट्रिय खेलकुदमा समावेश हुने खेल, आयोजनाको मिति, प्रतियोगिता सञ्चालन सम्बन्धी निर्देशिका, आयोजना सम्बन्धी बजेट तथा नम्सको विषयमा छलफल र निर्णय हुने भएकाे हाे ।
त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्को चालु आव २०८३/८४ को विनियोजित बजेट सम्बन्ध र परिषद्को आन्तरिक तर्फको अनुमानित आय व्यय सम्बन्धमा पनि निर्णय लिइनेछ । राष्ट्रिय खेलकुद परिषद्लाई अत्यावश्यक प्राविधिक कर्मचारीहरू करार सेवामा लिने सम्बन्धमा छलफल हुँदै छ । पछिल्लो समय स्थायी कर्मचारीहरू धमाधम रिटायर्ड हुनु तर त्यसको पूर्ति नहुँदा कर्मचारीको अभाव हुँदै आएको छ ।
साथै, पूर्वाधार निर्माणतर्फ सिभिल इन्जिनियर उपसचिवसरह एकजना र सिभिलरआर्किटेक्ट रइलेक्ट्रीकलरस्ट्रकचरल चारजना थप गर्ने विषयमा निर्णय हुने भएकाे हाे । आइटी सूचना प्रविधितर्फ आइटीविज्ञ दुई जना अधिकृत तृतीय राखिने एजेन्डामा समावेश छ । त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्लाई आवश्यक कानूनी सल्लाहकारको सेवा करारमा लिने सम्बन्धमा, खेलकुद ग्रास रुट कार्यक्रम सञ्चालन सम्बन्धमा, खेल संघहरूलाई खेल कार्यक्रमको लागि अनुदान सहयोग सम्बन्धमा बैठकमा छलफल हुने भएकाे हाे।
बोर्ड बैठकको विविधमा भने अहिलेको जल्दो बल्दो विषय अखिल नेपाल फुटबल संघ सम्बन्धी रहेको छ । खेलकुदमन्त्री पोखरेलले गत जेठमा राखेप सदस्यसचिव रामचरित्र मेहतालाई अधिकार प्रत्यायोजित गरेको आगामी बैठकमा अनुमोदन गर्ने एजेन्डामा उल्लेख गरिएको हाे । जस अनुसार एन्फा निलम्बनको विषय विविधमा चर्चा हुनेछ । तेस्रो पक्षको हस्तक्षेप अर्थात् नेपाल सरकारको हस्तक्षेपका कारण नेपाली फुटबल विश्व फुटबल महासंघ (फिफा) बाट निलम्बनमा परेकोले यसलाई फुकुवा गर्ने दबाबमा राखेप रहेको हाे ।
पुरुष साफ च्याम्पियनसिपदेखि अन्य फुटबल प्रतियोगिताहरू एकपछि अर्को गरेर रद्द हुन थालेपछि खेलाडीहरूले नै निलम्बन फुकुवाका लागि सामाजिक सञ्जालमार्फत दबाब दिन थालिसकेका छन् । प्राप्त जानकारीअ नुसार बोर्ड बैठक अगाडि नै एन्फा निलम्बनका लागि प्रयास गर्ने तर असफल भएमा नयाँ तदर्थ समिति बनाउने गरी राखेपले तयारी गरिरहेको हाे।
विविधमा नै खेलाडी कल्याणकारी कोष प्रयोग सम्बन्धी मापदण्ड–२०८३ र कार्यकारी समितिबाट खरिद शाखा स्थापना गरिएकोलाई अनुमोदन सम्बन्धमा निर्णय हुने भएकाे छ। खेल संघहरूको नवीकरण सम्बन्धमा पनि निर्णय हुने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्