Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


फिफा निलम्बन: नेपाली फुटबलले यू-१९ एशियन क्वालिफायर्स कप पनि गुमायो


169
Shares

काठमाडौं । नेपाली फुटबलले एशियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा चीनमा हुने यू-१९ एशियन क्वालिफायर्स कप पनि गुमाएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबल वञ्चित भएकाे हाे। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश भएकाे छैन । एएफसीले फिफाको निलम्बन नभएको भए नेपाल समूह ‘आई’ मा भएकाे जनाएकाे छ। याेसँगै नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको हाे ।

यसअघि एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू-१७ महिला एशियन कप क्वालिफायर्सबाट पनि नेपाल बाहिरिएको छ । फिफाले गतअसार ११ गते अखिल नेपाल फुटबल संघ, एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो । यहि अवस्था रह्यो भने नेपालले दक्षिण एशियाको सबै भन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप पनि गुमाउने जोखिम बढेको छ ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले आगामी सेप्टेम्बर १ भित्र फिफाको निलम्बन फुकुवा भए मात्रै नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको हाे । एएफसी यू-१९ एशियन कप क्वालिफायर्स चीनमा यहि अगस्टको अन्तिम हप्तादेखि शुरु हुने भएकाे छ।