Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


युवा फुटबलर आशिष राईको उपचारका लागि १२ लाख रूपैयाँ जुट्यो


39
Shares

काठमाडौं । युवा फुटबलर आशिष राईको उपचारका लागि करिब १२ लाख जुटेको छ ।

मलेसियास्थित एन पेनाङ एफसीको विशेष पहलमा सञ्चालित परोपकारी अभियानमार्फत कूल ११ लाख ८४ हजार १ सय ६१ नेपाली रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको हाे ।आशिषको उपचार खर्च जुटाउने मुख्य उद्देश्यका साथ मलेसियामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजबाट २१ हजार १ सय ४४ मलेसियन रिंगेट (करिब ७ लाख ८४ हजार १ सय ६१ नेपाली रुपैयाँ संकलन) भएको थियो ।

उक्त अभियानलाई ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियस्थित नेपबोर्न एफसीले थप ४ लाख नेपाली रुपैयाँ हस्तान्तरण गरेको हो ।मैत्रीपूर्ण सिरिजमा एन पेनाङ एफसीले हिमालयन एफसी र नेपबोर्न एफसीसँग प्रतिस्पर्धा गरेको थियो । त्यसैगरी, एन पेनाङ एफसी भेट्रान्स र झापा भेट्रान्सबीच पनि खेल भएको थियो ।

आशिष विगत १७ महिनादेखि उपचाररत छन् । सन् २०२४ मा नेपाल र चीनबीचको प्रदर्शनी खेलको क्रममा आशिषको खुट्टा भाँचिएको थियो । त्यसपछि आशिषलाई उपचारका लागि चिनियाँ दूतावासको समन्वयमा ६ महिना युनान पनि लगिएको थियो । स्वास्थ्य अवस्था सुधार भएपछि नेपालमा पुनर्स्थापना निम्ति रिह्याबमा राखिएको थियो ।

त्यसपछि, थप उपचारका निम्ति आशिषलाई गत अप्रिल ३० तारिखदेखि थाइल्यान्डको बैंकक अस्पतालमा राखिएकाे छ।