Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


पोखरामा पनि एलपी ग्यासको आपूर्तिमा समस्या

उपभोक्ता सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य

117
Shares

काठमाडाैं । देशैभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

पोखरा क्षेत्रमा पनि ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिपोहरूमा लामो लाइन बस्न बाध्य भएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीले बजारमा देखिएको यो असहज परिस्थितिलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीब्र पारेको छ । यसै क्रममा, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा पोखरास्थित प्रमुख ग्यास विक्रेता ‘चेरिस्मा इम्पोरियम’ मा छड्के अनुगमन गरिएको हाे ।

अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी बरालले बाहिरका कम्पनीहरूले मागअनुसारको ग्यास नपठाउँदा केही समय आपूर्तिमा समस्या देखिएको स्वीकार गर्नुभयो । बरालले बजारमा ग्यासको अभाव नहुने भन्दै उपभोक्तालाई त्रसित नहुन र आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गर्नुभएकाे छ । उहाँले आगामी दुई–तीन दिनभित्रै बजारमा ग्यासको आपूर्ति पूर्णतः सहज हुने दावी समेत गर्नुभयो ।

यता, ग्यास व्यवसायीहरूले भने उपभोक्ताको अत्यधिक भण्डारण (होर्डिङ) का कारण बजारमा अभाव चुलिएको बताएका छन् । चेरिस्मा इम्पोरियमकी सञ्चालक सीता बरालले अन्तर्राष्ट्रिय बजारमा देखिएको युद्धको हल्ला र अभाव हुने डरले गर्दा उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सञ्चय गरेकाे बताउनुयाे। उहाँले व्यवसायीहरूमा भन्दा पनि उपभोक्ताकै तहमा धेरै ग्यास सञ्चित रहेको दावी समेत गर्नुभएकाे छ।

प्रशासनले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्नेमाथि कडा निगरानी राखिने जनाएको हाे। आपूर्ति व्यवस्थालाई नियमित बनाउन प्रशासनले व्यवसायी र ग्यास विक्रेता संघसँग निरन्तर समन्वय गरिरहेको दावी समेत गरेकाे छ।