ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-९, ज्यामिरेका एक दम्पत्तिको मिहिनेत र परिश्रमले अहिले सिंगाे गाउँकै पहिचान परिवर्तन भएकाे छ।
कुनै समय खानेपानीको अभावका कारण बाँझै रहने पाखा-पखेराहरूमा अहिले बाह्रै महिना हरियाली र मौसमी तथा बेमौसमी तरकारी खेती फलिरहेकाे हाे । वैदेशिक रोजगारीको पीडा र जीवनका थुप्रै उतरचढावलाई पार गर्दै ज्यामिरेका टिकाराम खड्का र उहाँकी श्रीमती टिकामाया खड्काले आफ्नै माटोमा सुन फलाउने संकल्पका साथ शुरु गरेको व्यावसायिक तरकारी खेतीले अहिले सार्थक रूप लिएको छ ।

वैदेशिक रोजगारीमा पाँच वर्षसम्म बसेर स्वदेश फर्किएका टिकाराम र घरमै बसेर कृषि कर्मको जग बसाल्नुभएकी टिकामाया खड्काको दम्पत्ति अहिले ओखलढुंगाको कृषि क्षेत्रमा एक सफल र प्रेरणादायी उदाहरण बनेका छन् । शुरुका दिनमा घर वरपरको थोरै जमिनमा सुन्तलाका बोटहरु रोपेर कृषि यात्राकाे प्रारम्भ गरेको याे परिवारले अहिले आफ्नै र भाडामा लिएर करिब ६० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती विस्तार गर्न समेत सफल भएकाे हाे ।

घिरौँला, तितेकरेला, भान्टा, लौका, फर्सी, अकबरे खुर्सानी, टमाटर र काउली जस्ता बजारमा माग हुने प्रायः सबै प्रकारका तरकारीहरू उनीहरूको फार्ममा लहलहाइरहेका छन् । सिंचाईका लागि दिगो स्रोत नभएका कारण बर्खायामकाे आकाशे पानी संकलन गरेर पोखरीमा जम्मा गर्ने र हिउँदामा मिटरको पानी प्रयोग गर्दै उनीहरूले कृषि पेशा धानिरहेका छन् । बजारमा आफ्ना उत्पादनहरू बिक्री वितरण गरेर एक हप्तामा करिब ५० हजार रुपैयाँसम्म आम्दानी भएकाे छ। याे आम्दानीले काठमाडौंमा अध्यनरत छोराछोरीको लागि समेत खर्च र घरव्यवहार चलाउन समेत सहज भएको उनीहरूले बताए ।

ओखलढुंगा तरकारी खेतीको शुरुवाती चरणमा गाउँलेहरूबाट उडाउने खिल्ली तथा कृषि प्राविधिक ज्ञानको अभाव व्यहोरे पनि खड्का दम्पत्तिले तालिम र आफ्नै अनुभवका आधारमा खेतीको दायरा बढाउँदै लगेका छन् । बहुबाली तथा घुम्ते बाली प्रणाली अपनाएर उनीहरूले माटोको उर्वराशक्ति जोगाउनुका साथै सम्भावित रोगव्याधको जोखिमलाई समेत कम गरेका हुन् । खड्का दम्पत्तिले हप्ताको दुई दिन शनिबार र बुधबार लाग्ने ओखलढुंगा बजारमा आफूले उत्पादन गरेको कृषि सामग्री लाने गरेका छन् । बजारमा तरकारीको माग राम्रो भए पनि सिँचाइका लागि स्थायी पोखरी र आधुनिक प्रविधिको अभाव भने उनीहरूका लागि अझै ठूलो चुनौती बनेको छ ।

खड्का दम्पत्तिले राज्यका तर्फबाट सिँचाइका लागि एउटा बलियो पोखरी र कृषि पूर्वाधारमा सहयोग पाए खेतीलाई अझ व्यवस्थित र विस्तार गर्न सकिने सोच राखेका हुन् । ओखलढुंगा भौगोलिक विकटता, वन्यजन्तुको आतंक, जलवायु परिवर्तनका कारण हुने बेमौसमी खडेरी र जनशक्तिको चरम अभावका बाबजुद पनि खड्का दम्पत्तिले देखाएको यो जाँगर र कृषिप्रतिको समर्पण प्रशंसनीय रहेकाे छ । विदेशको कठिन परिश्रमभन्दा आफ्नै भूमिमा बगाएको पसिनाले दिगो आत्मसन्तुष्टि र आर्थिक समृद्धि दिन्छ भन्ने उदाहरण ज्यामिरेको यो कृषि फार्मले दिएको हाे ।

राज्यले साना र वास्तविक कृषकहरूका समस्यालाई पहिल्याएर सिँचाइ तथा बजार व्यवस्थापनमा सहयोग पुर्याउने हो भने पहाडी क्षेत्रका हजारौं युवाहरूका लागि कृषि कर्म नै आत्मनिर्भरताको बलियो आधार बन्न सक्ने देखिन्छ ।

विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस्:









प्रतिक्रिया दिनुहोस्