Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


ट्राफिक व्यवस्थापनमा नागरिकको उत्तरदायित्व र प्रहरीको कर्तव्यबीच बलियाे समन्वय आवश्यक: महानायक हमालकाे

'नियम पालना गर्दा नागरिक र प्रहरी दुवैको समय वचत र सुरक्षा पनि सुनिश्चित'

0
Shares

काठमाडाैं । महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडाैंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सडक व्यवस्थापन प्रहरीको मात्र नभई आम नागरिकको पनि साझा जिम्मेवारी भएको बताउनुभएको हो । उहाँले समयसँगै सवारी साधनको सङ्ख्यामा अत्यधिक वृद्धि भएपनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेको प्रति चासो व्यक्त गर्नुभयो । समयसापेक्ष पूर्वाधार निर्माण र आधुनिक प्रविधिको प्रयोग गर्नसके सडक व्यवस्थापन अझ बढी व्यवस्थित र सुचारु हुने उहाँको भनाइ छ । ट्राफिक प्रहरीको कार्यकुशलताको कदर गर्दै उहाँले नागरिकहरूले पनि आफ्नो जिम्मेवारी उत्तिकै गम्भीरताका साथ वहन गर्नुपर्ने बताउनुभयो ।

महानायक हमालले सडकमा देखिने अत्यधिक हतारो र ‘छाडा’ प्रवृत्तिको चर्चा गर्दै हमालले सवारी चालक र पैदल यात्रीको मनोविज्ञानमा परिवर्तन आउनु जरुरी रहेको बताउनुभएकाे छ । उहाँले सबैले एकै पटक हतार गर्दा सडक झन् भद्रगोल हुने र जाम बढ्ने यथार्थलाई बुझेर पहिला म नभइ पहिला तिमी भन्ने संस्कार जरुरी रहेको बताउनुभयो । सडक विस्तार मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै उहाँले चुस्त व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएकाे छ। कतिपय विकसित मुलुकमा नेपालको भन्दा साँघुरा सडक भएपनि प्रभावकारी व्यवस्थापनका कारण सवारी आवागमन सहज रहेको उदाहरण समेत दिनुभयाे । महानायक हमालले काठमाडौंको सन्दर्भमा व्यवस्थापनलाई दुरुस्त बनाउन सुझाव समेत दिनुभएकाे छ ।

महानायक हमालले ट्राफिक नियमको पालना गर्नु सबैको हितमा रहेको र यसलाई ‘विन–विन सिचुएसन’ (दुवै पक्षको जित) का रूपमा व्याख्या गर्नुभयो । नियम पालना गर्दा नागरिक र प्रहरी दुवैको समय वचत हुने र सुरक्षा सुनिश्चित हुने उहाँको तर्क छ । समाजका हरेक तह र तप्काले हातेमालो गरेर मात्र काठमाडौंको ट्राफिक व्यवस्थापनलाई सही दिशा दिन सकिने भन्दै उहाँले सबै सरोकारवालालाई मर्यादित हुन पनि आग्रह गर्नुभयो ।