काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कुटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदुतहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्ताे बताउनुभएकाे हाे । नेपाल र सम्बन्धित मुलुकहरूबीचको सम्बन्ध सेतुका रूपमा कार्य गर्न उनीहरूलाई आग्रह गर्नुभयाे । मन्त्री खनालले खासगरी नेपालमा आवासीय कूटनीतिक नियोगहरू नभएका मुलुकहरूसँगको व्यावसायिक, साँस्कृतिक र संस्थागत सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभएकाे छ।
मन्त्री खनालले वाणिज्यदुतहरूलाई नेपालको राष्ट्रिय प्राथमिकता र आकाङ्क्क्षाहरूसँग एकाकार हुँदै द्विपक्षीय साझेदारी सुदृढ तुल्याउन सुझाव दिनुभयो । अवैतनिक वाणिज्यदुतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र सहज बनाउन विद्यमान नियमावली, सुविधा र कानूनी ढाँचाहरूको समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएकाे छ। नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै मन्त्री खनालले युवा पुस्ताको आकाङ्क्क्षा र जनमतबाट प्राप्त वर्तमान सरकारको म्यान्डेट सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
मन्त्री खनालले नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकता दिने बताउनुभएकाे छ। विश्वव्यापी भू–राजनीतिक र प्राविधिक परिवर्तनको समयमा अवैतनिक वाणिज्यदुतहरूको अन्तर्दृष्टि र संलग्नता थप मूल्यवान हुने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय कानून र घरेलु कानूनी ढाँचाको परिधिभित्र रही उच्च व्यावसायिकता र निष्ठाका साथ आफ्नो जिम्मेवारी निभाउन वाणिज्यदुतहरूलाई आह्वान समेत गर्नुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्