Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


‘लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि नेपाली काँग्रेस सम्झौताहीन ढंगले अघि बढ्छ’


52
Shares

काठमाडाैं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि काँग्रेस सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

वीपी कोईरालाको ४४ औँ स्मृति दिवसका अवसरमा देउवाले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो । देउवा अहिले उपचारका क्रममा विदेशमा हुनुहुन्छ । देउवाले पठाउनुभएको सन्देश वाचन गर्दै नेता मिन विश्वकर्माले वीपी कोईरालाको मेलमिलापको नीति र जनताको सर्वोच्चताप्रतिको विश्वास आज पनि नेपाली राजनीतिको मुख्य मार्गदर्शक सिद्धान्त रहेको उल्लेख गर्नुभयो ।

वीपी कोईरालाको नेतृत्वबाट राजनीतिक यात्रा शुरु गरेको ६ दशकभन्दा लामो अनुभव स्मरण गर्दै देउवाले लोकतान्त्रिक संस्कार र मूल्य–मान्यता नै आफ्नो राजनीतिको प्रेरणा स्रोत रहेको बताउनुभयो । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै देउवाले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो ।

फरक विचारप्रति असहिष्णु बन्ने, राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग गर्ने र राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने उहाँको तर्क छ । देउवाले न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायहरूलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतङ्कित तुल्याउने औजारका रूपमा प्रयोग गर्न खोजिएको आरोप समेत लगाउनुभएको छ ।

यस्तो चुनौतीपूर्ण घडीमा लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी फेरि नेपाली काँग्रेसको काँधमा आएको उहाँले उल्लेख गर्नुभयो । विगतका आठ दशकमा काँग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र नगरी शान्ति प्रक्रिया, संविधान निर्माण र प्राकृतिक विपत्तिका समयमा समेत जिम्मेवार भुमिका खेलेको स्मरण गर्दै देउवाले वर्तमान चुनौती सामना गर्न पार्टी पछि नहट्ने स्पष्ट पार्नुभयो ।

देउवाको पत्र वाचन गर्दै विश्वकर्माले भन्नुभयो, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका महान नेता वीपी कोईरालाको नेतृत्वमा राजनीतिक यात्रा शुरू गर्ने अवसर पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो । उहाँको विश्वास, जिम्मेवारी र लोकतान्त्रिक संस्कारले मेरो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देश गरेको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति उहाँको अटल निष्ठा नै मेरो प्रेरणाको श्रोत रह्यो । यही प्रेरणाले मलाई विगत ६ दशकभन्दा बढी समय नेपाली कांग्रेसको साधारण कार्यकर्ता देखि नेतृत्वसम्म आइपुग्ने यात्रामा निरङ्कुशता, अधिनायकवाद र लोकतन्त्र विरोधी शक्तिविरुद्ध संघर्ष गर्न प्रेरित ग¥यो । नेपाली काँग्रेसले ८ दशकको गौरवपूर्ण यात्रामा लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र होइन, शान्ति प्रक्रिया, संविधान निर्माण, पुनर्निर्माण र महामारीका चुनौतीबीच जनताको जीवन र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने जिम्मेवारी पनि निर्वाह गरेको छ । यही अनुभवले वर्तमान चुनौती सामना गर्न हामीलाई अझ दृढ बनाएको छ । स्वास्थ्य उपचारका कारण विदेशमा रहे पनि मेरो मन सधैं देश, जनता र लोकतन्त्रमै केन्द्रित छ । आज असहिष्णुता, प्रतिशोधपूर्ण राजनीति, न्यायपालिका र संवैधानिक संस्थामाथि दबाब सिर्जना गर्ने प्रवृत्ति लोकतन्त्रका लागि अस्वीकार्य छ । यसको विरोध गर्नु नै नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो । प्रजातन्त्र जनताको सामूहिक आत्मनिर्णय हो ।

जनमत नै राष्ट्रको भविष्य निर्माण गर्ने सर्वोच्च शक्ति हो । त्यसैले लोकतन्त्रको रक्षा गर्नु भनेको राष्ट्रको रक्षा गर्नु हो । विगतमा जस्तै आज पनि काँग्रेसले लोकतन्त्र, संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । वीपी कोईरालाको राष्ट्रिय मेलमिलाप नीति आज पनि मार्गदर्शक आदर्श हो । प्रजातन्त्र, राष्ट्रियता, समाजवाद, सामाजिक न्याय, समानता र समावेशिता कांग्रेसका प्राथमिकता हुन् । यही विश्वासका साथ म नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको आस्थामा फेरि एकपटक भरोसा दिलाउँदै बिदा हुन्छु ।’

वीपी कोईरालाले २०३३ सालमा अघि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक र जीवित आदर्श रहेको उहाँको भनाइ छ । व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र र लोकतन्त्रलाई माथि राखेर अघि बढ्नु नै वीपीप्रतिको सच्चा सम्मान हुने देउवाले सन्देशमा उल्लेख गर्नुभएको छ । देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासले नै मुलुकलाई सही दिशामा डो¥याउने विश्वास व्यक्त गर्नुभयो ।