काठमाडौं ।
देशभर पर्यटकको संख्या बढेपनि प्राकृतिक सौन्दर्य, दुर्लभ वन्यजन्तु र रोमाञ्चक जंगल सफारीका कारण परिचित बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको संख्या भने घटेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको संख्या अघिल्लो आर्थिकको वर्षको तुलनामा आर्थिक वर्ष २०८२ /०८३ मा एक हजारले घटेको हो । गत वर्ष बर्दिया निकुञ्जमा २७ हजार २५ जना पर्यटक पुगेका छन् । तीमध्ये १८ हजार ९०७ नेपाली, १ हजार २१७ सार्क मुलुकका र ६ हजार ९०१ विदेशी पर्यटक रहेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१-०८२ मा २८ हजार ६७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। निकुञ्जका अनुसार जेन–जेड आन्दोलन र विभिन्न देशमा भएका निर्वाचनका कारण विदेशी पर्यटकको आवागमन प्रभावित हुँदा पर्यटक संख्या केही घटेको हो । पर्यटक संख्या केही घटे पनि आम्दानीमा भने खासै असर परेको छैन ।
प्रवेश शुल्कबाट मात्रै एक करोड ३१ लाख ५४ हजार ९ सय ५० रुपैयाँ र जंगल ड्राइभ, ¥याफ्टिङ, फिसिङ लगायतका पर्यटन सेवाबाट एक करोड ३६ लाख ५२ हजार ९ सय ७५ रुपैयाँ गरी पर्यटनबाट मात्रै दुई करोड ६८ लाख ७ हजार ९ सय २५ रुपैयाँ राजस्व संकलन भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत, महेश न्यौपानेले जानकारी दिनुभयो ।
निकुञ्ज प्रशासनका अनुसार अहिले पर्यटनको अफ–सिजन सुरु भए पनि सार्वजनिक बिदाका दिन नेपाली पर्यटकको उपस्थिति उल्लेख्य रहने गरेको छ ।
हात्तीसार, गोही प्रजनन केन्द्र, जंगल सफारी, जंगल वाक तथा पाटेबाघ अवलोकनका कारण बर्दिया राष्ट्रिय निकुञ्ज देशकै आकर्षक वन्यजन्तु पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्