Logo ४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026


दक्षता र रुचिका आधारमा सांसदहरूलाई भुमिका दिनुपर्छ : महासचिव पोखरेल


130
Shares

काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संसदीय दलका सदस्यहरूलाई उनीहरूको रुचि र विज्ञताका आधारमा जिम्मेवारी दिनुपर्ने बताउनुभएको छ ।

सबै सदस्यहरूको सबै विषयमा समान दक्षता नहुने उल्लेख गर्दै उहाँले विषयवस्तुको ज्ञान भएका व्यक्तिलाई प्राथमिकता दिँदा मात्र सदनमा पार्टीको उपस्थिति प्रभावकारी हुने बताउनुभयो । आइतवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विषयवस्तुमा दख्खल नभएका सदस्यहरूलाई जबरजस्ती बोल्न लगाउँदा त्यसले अपेक्षित प्रभाव पार्न नसक्ने तर्क गर्नुभयो ।

ठूलो पदमा भएकै आधारमा मात्र बोल्न दिने परिपाटीले कतिपय अवस्थामा विषयवस्तु ओझेलमा पर्नसक्ने उहाँको विश्लेषण छ । सूचना र प्रविधिको वर्तमान युगमा प्रश्तुति शैलीले नै मुख्य अर्थ राख्ने बताउँदै उहाँले ज्ञान र दक्षतालाई आधार बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘संसदीय दलका सदस्यहरुको सबै विषयमा समान प्रकारको रुचि र दक्षता नहुन सक्छ । आफ्नो रुचि र दक्षता र ज्ञान नभएको विषयमा जबरजस्ती बोल्ने कुराले प्रभाव नदिन सक्छ । जसलाई जुन विषयमा रुची छ, त्यसका आधारमा पनि हामीले विशेष ध्यानाकर्षण गर्नुपर्छ ।

नेतृत्वका हकमा जसले विषयवस्तुलाई गहिराइका साथ बुझेको छ, प्रश्तुत गर्नसक्छ, त्यो पदीय हिसावले कुन पदमा छ भन्नेकुरा बिर्सिन सक्दछ । ठूलो पदमा छ भने उसलाई लिड गर्न दिने नाममा विषयवस्तु प्रभावकारी रुपले प्रश्तुत नहुने समस्या हुनसक्छ ।

विषयवस्तुको ज्ञानको दक्षतालाई आधार बनाएर विषय राख्न दिनुपर्छ ।अहिले सूचना र प्रविधिको युग हो । त्यसअर्थमा हामी आफूलाई कसरी प्रश्तुत गर्नसक्छौँ भन्नेकुराले मुख्य अर्थ राख्छ ।’ नागरिकको जीवनस्तर र उनीहरूको बढ्दो आकांक्षाको अनुपातमा मुलुकको आर्थिक वृद्धि हुन नसक्दा पार्टी र जनताबीच केही दूरी कायम भएको उहाँको भनाइ छ ।