काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्यांकमा हस्तक्षेप गरेको बताएपछि बेइजिङले आरोप ‘कपोलकल्पित’ भन्दै खण्डन गरेको छ ।
‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो दाबी पुनः दोहो¥याएपछि चीनका तर्फबाट आफुमाथिको आरोपबारे खण्डन आएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमार्फत अमेरिकी पक्षबाट गरिएका सम्बन्धित दाबीहरू पूर्ण रूपमा कपोलकल्पित र दुर्भावनापूर्ण आरोपहरू पहिले नै आधारहीन साबित भइसकेको जिकिर गर्नुभयो ।
चीनलाई अमेरिकी निर्वाचनमा कुनै चासो नभएको स्पष्ट पार्दै जियानले कसले नियमित रूपमा अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी राख्छ भन्ने अन्तर्राष्ट्रिय समुदायले स्पष्ट रूपमा देखेको पनि उल्लेख गर्नुभयो ।
अमेरिकालाई आफ्नो कार्यको आत्मनिरीक्षण गर्न, चीनमाथि आधारहीन आरोप लगाउन बन्द गर्न पनि चीनको आग्रह छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार ह्वाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको बताउनुभएको थियो ।
कानुन निर्माताहरूलाई मतदानमा नयाँ प्रतिबन्धहरू लागु गर्न ट्रम्पले आव्हान गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्