Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


सरकारमाथि प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोजेको कांग्रेसकाे आरोप

होल्डिङ सेन्टर र सञ्चारमाध्यम अगाडि गाडी पार्किङ प्रकरणमा राज्यको संलग्नता रहेकाे तर्क

104
Shares

काठमाडौं। विपक्षी दलका सांसदहरूले राज्यबाटै संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा सवारी साधन राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कारबाहीको माग गरेका छन् ।

प्रतिनिधिसभाकाे मंगलबार बसेकाे बैठकमा बाेल्दै उनीहरूले सवारी साधन राखेर त्रास सिर्जना गर्न खोज्नेहरूलाई सामान्य ट्राफिक जरिवाना मात्रै गरिएकोप्रति आपत्ति समेत जनाएका हुन् । बैठकमा नेपाली कांग्रेस सचेतक निष्कल राईले सरकारमाथि प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोजेको आरोप लगाउनुभयाे ।

सचेतक राईले होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी सञ्चारमाध्यम अगाडि गाडी पार्किङ प्रकरणमा राज्यको संलग्नता रहेको उल्लेख गर्नुभएकाे छ। उहाँले सरकारले हरेक प्रकरणलाई राजनीतिकरण गर्न खोजेको बताउनुभयाे ।

त्यस्तै, नेकपाका सांसद रमेश मल्लले सञ्चारमाध्यम अगाडि सवारी साधन राखेर त्रास फैलाउनेलाई कडा कारबाही गर्न माग गर्नुभएकाे छ । उहाँले राज्य संरक्षित केही व्यक्तिबाट उक्त गतिविधि भएको आरोप लगाउँदै सामान्य जरिवाना तिराएर जिम्मेवारीबाट उन्मुक्ति दिने काम स्वीकार्य नहुने स्पष्ट पार्नुभयाे ।

विपक्षी दलका सांसदहरूले सवारी साधन पार्किङ घटनामा राज्यको संलग्नता भएको आरोप लगाएपछि रास्वपाका केही सांसदहरूले नियमापत्ति गरेका थिए ।